३० भदौ,एजेन्सी ।
भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको प्रकोप फैलिएसँगै विद्यालय र कार्यालय बन्द गरिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचको) का अनुसार निपा भाइरसलाई दुर्लभ मानिन्छ । यो रोगले मस्तिष्कमा हानि पु¥याउँछ । यो भाइरसका कारण दुई जनाको मृत्यु भएपछि केरलामा जोखिम बढेको भन्दै विद्यालय र कार्यालय बन्द गरिएका हुन् ।
सन् २०१८ यता चौथोपटक भारतमा निपा भाइरसको प्रकोप देखिएको हो । सन् २०१८ मा निपा भाइरसका कारण २१ जनाले ज्यान गुमाएका थिए । भारतस्थित अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार निपा भाइरस पहिलोपटक सन् १९९९ मा मलेसिया र सिंगापुरमा देखिएको थियो ।
रहस्यमयी रोग लाग्न थालेपछि त्यहाँ परीक्षण गरिँदा सुंगुर र मानिसमा निपा भाइरस भेटिएको थियो । त्यसबेला मलेसिया र सिंगापुरमा करिब ३०० मानिसमा निपा देखिएको थियो, जसमध्ये १०० भन्दा बढीले ज्यान गुमाएका थिए । यो प्रकोपले पर्याप्त आर्थिक प्रभाव पारेको थियो । किनभने यो रोगको फैलावटलाई नियन्त्रण गर्न १० लाखभन्दा बढी सुँगुर मारिएको थियो ।
निपा त्यस्तो भाइरस हो, जो सुरुमा जनावर र मानिसबीच फैलिन्छ । यो प्रदूषित खानेकुरा वा संक्रमित मानिससँगको संसर्गबाट पनि सर्न सक्छ । यो भाइरसबाट संक्रमित भएपछि कसैमा देखिने गरी लक्षणहरू देखा पर्दैनन् । तर, कसैमा भने सघन श्वासप्रश्वासमा समस्या देखा पर्छ । यो भाइरस सरेका बिरामीमा मृत्युदर उच्च हुन्छ किनभने यो संक्रमणको उपचार गर्न औषधि या खोप उपलब्ध छैन ।
उपचार गर्ने भनेको लक्षण हेरेर त्यसलाई कम गर्ने उपाय खोज्ने या अन्य हेरचाह गर्ने मात्र हो । एनआइभी भनिने निपा भाइरसको संक्रमण तुलनात्मक रूपमा नयाँ किसिमको रोग हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार निपा भाइरस पशुबाट मानिसमा सर्छ र यसले गम्भीर प्रकृतिको रोग लाग्छ । उक्त भाइरस प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ जातको चमेरोमा पाइने बताइएको छ ।
मन्त्रालयका अनुसार निपा भाइरसले मस्तिष्कमा संक्रमण गराउँछ । सुरुमा यो भाइरसले श्वासप्रश्वाससम्बन्धी समस्या गराउँछ । भाइरस पशुपन्छीबाट मानिसमा सर्ने भएकाले यसलाई ‘जुनोटिक’ रोगको वर्गमा राखिएको छ । प्रायः सुँगुर, बंगुर र फलफूल खाने चमेरोमा संक्रमण भएपछि मानिसमा पनि सर्न सक्ने मन्त्रालयको भनाइ छ ।