२ असोज, काठमाण्डौ ।
काठमाडौंको दशरथ रंगशालामा बिहीबारदेखि सुरु हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो । एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए ।
भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज मंगलबार आउनेछन् । पाकिस्तान भने भोलि बुधबार आइपुग्ने एन्फाले जनाएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । गत वर्ष भारतको भुवनेश्वरमा भएको च्याम्पियनसिपमा पाकिस्तान र भुटान बाहेक ५ टिम सहभागी थिए र सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको थियो ।
यस पटक पाकिस्तान र भुटान च्याम्पियनसिपमा सहभागी छन् भने श्रीलंका सहभागी छैन । च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । नेपालले तेस्रो पटक साफ यू–१९ च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
२०१९ मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । जियारथ शेखको कप्तानीमा रहेको नेपाली टोलीले यस पटक घरेलु मैदान उपाधि जित्दै विगतको प्रदर्शनलाई दोहो¥याउने लक्ष्य राखेको छ । प्रतियोगिताका निर्देशक सञ्जिव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै कम्तीमा फाइनलसँग पुग्ने लक्ष्य रहेको बताए ।
प्रतियोगिताको लागि भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ २०० टिकट मूल्य राखिएको छ । खेलहरु स्पोर्ट्जवर्कजको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुने छ । सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।
च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रहेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि बजेट साफले प्रदान गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । समूह चरणको पहिलो खेलमा नेपालले बिहिबार पाकिस्तानसँग खेल्नेछ ।
खेल साँझ साढे ५ बजे सुरु हुनेछ । सोही दिनको पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन् । खेल दिउँसो साढे १ बजे हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले मालदिभ्ससँग सोमबार दिउँसो साढे १ बजे भिड्नेछ ।