२७ असोज, विराटनगर ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई शनिबार विहान प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो । नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो ।
कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका हुन् । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए ।
शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७÷४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका छन् । कोशी प्रदेशमा एक वर्षको अवधिमा ५ औं पटक मुख्यमन्त्री नियुक्त भएका छन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए ।