२१ काार्तिक, एजेन्सी ।
बलिउड अभिनेत्री तथा दक्षिण भारतीय चर्चित चलचित्र ‘पुष्पा’बाट अधिक चर्चा पाएकी अभिनेत्री रश्मिका मन्दनाको जस्तै देखिने भिडियो भाइरल बनेपछि यसको चर्चाले बलिउड समेत तातेको छ । रश्मिकाको डीपफेक भिडियो सामाजिक सञ्जालमा देखा परेपछि अमिताभ बच्चनले यसविरुद्ध कानुनी कारवाहीको माग गरेका छन् ।
इन्टरनेट प्रयोगकर्ताले उक्त भिडियो जारा पटेल नामक भारतीय मूलकी एक बेलायती महिलाको भएको तथ्य फेला पारेका छन् । रश्मिकासँग ‘गुडबाइ’ फिल्ममा सहकार्य गरेका बच्चनले एक्समा लेखेका छन्, ‘यो बलियो कानुनी मामिला हो ।’ यो घटनापछि रश्मिकाले समेत प्रतिक्रिया जनाएकी छन् ।
उनले आफ्नो जस्तो समस्या अरूले झेल्न नपरोस् भनेर उनले यसको समाधान खोज्न अपिल पनि गरेकी छिन् । यो आफ्नो लागि मात्रै नभएर सबैका लागि निकै भयानक भएको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा रश्मिकाले लेखेकी थिइन् । अहिले डिपफेकको दुरुपयोग जसरी भइरहेको छ, यसले सबैलाई निकै ठुलो क्षति हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी थिइन् ।
यो एउटा प्रविधि हो– जसमा एआईको प्रयोग गरेर भिडियो, फोटो र अडियोमा हेरफेर गर्न सकिन्छ । यो प्रविधिको मद्दतले एउटा व्यक्तिको भिडियो वा फोटोमा अर्को व्यक्तिको अनुहार राख्न मिल्छ । सामान्य भाषामा भन्नु पर्दा यसमा एआईको प्रयोग गरेर कसैको बदनाम गर्ने उद्देश्यले फेक भिडियो बनाइन्छ । झट्ट हेर्दा यी फोटो रियल जस्तै देखिन्छन् ।
यसैले यसको नाम डीपफेक राखिएको हो । डिपफेक शब्दको प्रयोग सन् २०१७ मा शुरु भएको थियो । त्यतिबेला एउक जना रेडिट युजरले अश्लील भिडियोमा अनुहार बदल्न यो प्रविधिको उपयोग गरेका थिए । यो अलि जटिल खालको प्रविधि हो । यसका लागि मेशिन लर्निङ अर्थात् कम्प्युटरमा दक्षता चाहिन्छ ।
यसलाई दुई वटा एल्गोरिदम डिकोडर र एनकोडर प्रयोग गरेर बनाइन्छ । एनकोडरले सक्कली तस्बिर वा भिडियोको ठ्याक्कै प्रतिलिपि बनाउँछ । डिकोडरले भने कन्टेन्ट सक्कली हो कि नक्कली भनेर पत्ता लगाउँछ । हरेक पटक डिकोडर कन्टेन्टलाई सक्कली हो कि नक्कली भने ठ्याक्कै पत्ता लगाउन सक्छ ।
भिडियो बनाउने क्रममा भएका त्रुटिहरूलाई यसले एन्कोडरमा पठाइदिन्छ । ताकी अर्को डीपफेक कन्टेन्टमा यस्ता गल्तिहरु सुधारेर त्यसलाई राम्रो बनाउन सकियोस् । यी दुबै प्रक्रिया मिलेर जेनरेटिभ एडभरसरियल नेटवर्क बन्छ । यसलाई जीएनएन भनिन्छ । डीपफेक कन्टेन्ट चिन्न केही खास कुरामा ध्यान दिन निकै जरुरी छ । पहिलो कुरा पोजिशन हो ।
डिपफेकमा आँखा र अनुहारको पोजिशनले झुक्क्याउँछ । भिडियोमा आँखा झपक्क हुन्न भने पनि यो डीपफेक कन्टेन्ट हुन सक्छ । भिडियोमा रंग हेरेर पनि डिपफेक पत्ता लगाउन सकिन्छ । सन् २०२२ मा साउथ स्टार रश्मिकाले ‘गुडबाइ’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । रणवीर कपुरसँग रश्मिकाको अभिनय रहेको फिल्म ‘एनिमल’ प्रदर्शनको तयारीमा छ । यो फिल्म डिसेम्बर १ मा प्रदर्शन तयारीमा छ ।