२२ मंसिर,काठमाण्डौ ।
भारतले प्याजको निर्यातमा फेरि पूर्ण प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको बताएको छ ।
अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ । भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।
यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । नेपाली बजारमा केहि समययता प्याजको अभाव छ । आलु र प्याजमा मूल्य अभिबृद्धि कर(भ्याट) को विवादले नेपाली होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता भने मारमा परेका छन् ।
सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि व्यवसायीको हडताल कायमै छ । अड्ताल नरहदा समेत प्याजमा नेपाल भारतमै निर्भर छ। उसले प्रतिबन्ध लगाउँदा नेपालमा हाहाकार नै हुने गरेको छ ।
नेपालमा प्याजखेतीका लागि तराई र भित्री मधेसको जग्गा उर्वर मानिए पनि नेपालमा व्यावसायिक खेती न्यून छ । किसानले मौसमी बालीका रूपमा लगाएको प्याज सहरी क्षेत्रका उपभोक्ताका लागि बजारसम्म आइपुग्न सकेको छैन । उत्पादन लिन लामो समयसम्म कुनुपर्ने र पहिलो तीन महिना निरन्तर सिँचाइ सुविधा पु¥याउनुपर्ने कारण किसानहरू प्याजखेतीमा खासै आकर्षित हुन नसकेको कृषिपवद्हरु बताउँछन् ।
नेपालमा आर्थिक वर्ष ०६३÷६४ मा पाँच वर्षसम्म प्याजमा आत्मनिर्भर हुने दाबीसहित ‘मिसन कार्यक्रम’ लागू गरिएको थियो । प्याज बढी उत्पादन हुने १० जिल्ला सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया र दाङमा यो कार्यक्रम लागू गरिएको थियो ।
५ वर्षको अवधिमा प्रतिजिल्ला करिब ५ करोडका दरले खर्च भए पनि उत्पादनमा सुधार नभएर आलोचना हुन थालेपछि कार्यक्रम बन्द गरिएको थियो । प्याजखेतीको उपयुक्त मौसम कात्तिकदेखि वैशाखसम्म मानिन्छ । भारतका १५ भन्दा बढी राज्यमा यही समयमा ठूलो स्केलमा प्याजखेती गर्छन् ।
त्यसपछि साउनदेखि कात्तिकको बेमौसमी सिजनमा पनि भारतका ८ देखि १२ राज्यका किसानले प्याजखेती गर्छन् । भारत सरकारले यसअघि गत भदौमा प्याजमा तत्काल लागू हुने गरी ४० प्रतिशत निर्यात कर लगाएको थियो । यो नियम सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहनेछ ।
सन् २०२३ को पहिलो ६ महिनामा मात्रै भारतले प्याजको निर्यात गत वर्षभन्दा ६३ प्रतिशतले बढी भएको छ। नेपाल, बंगलादेश, मलेसिया, यूनाइटेड अरब इमिरेट्स र श्रीलंकाका तरकारी बजारहरु भारतीय प्याजमा अधिकमात्रामा निर्भर छन्। भारतको यस निर्णयले नेपाल लगायत ती देशहरुमा पनि प्याजको मूल्य तथा आयात प्रभावित हुने छ।