१३ पुष,काठमाण्डौ ।
ललितपुरको बालकुमारीमा भएको ईपीएस आन्दोलनकारीको घेराबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बालबाल बाँचेका छन् । आज दिउँसो आन्दोलनकारीको घेराउमा परेर जोगिएका मन्त्री ज्वालाले यसबारे बताएका छन् । उनले आन्दोलनको बारेमा मेसो नपाउँदा गाडी जल्नेसम्मको अप्रिय घटना भएको बताएका छन् ।
बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला आन्दोलनकारीले पुलमै गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई निकालेर आगो लगाएका थिए । गाडीसँगै मन्त्रालयका महत्वपूर्ण कागजात समेत जलेको मन्त्री ज्वालाले बताएका छन् । मन्त्रीका पीएसओले गोली चलाएर गाडी तथा मन्त्री जोगाउन सक्थे । तर, मन्त्रीले नै गोली चलाउन दिएनन् ।
यसो गर्दा गाडीमा रहेको ल्यापटपलगायका महत्वपूर्ण सामग्री समेत जलेका छन् । ‘हामी बालकुमारीबाट सातदोबाटोतर्फ जान लागेका थियौं । ईपीएसवालाको लफडा चलिरहेको रहेछ । तर, हामीलाई थाहा थिएन, उनले भने, हाम्रो गाडीलाई बीचमा पारेर घेरा हालिसकेका थिए ।
उनीहरूले पहिले गाडीको हावा खुस्काए त्यस क्रममा धकेलाधकेल गर्न थाले । हामी त कसोकसो त्यसबाट उम्कियौं । तर, गाडीभित्रको ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । जसोतसो हामी उम्कियौं । तर, सबै चिज जल्यो, गाडी त देखिहाल्नुभयो होला,’ मन्त्री ज्वालाले भने ।
यसबीच प्रदर्शनमा घाइते भएका अर्का युवकको अवस्था चिन्तजनक रहेको छ । उनलाई किस्ट अस्पतालमा लगिएको छ । यसअघि प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो । प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरीले बताएका छ । मृत्यु भएकाको सनाखत भएको छैन ।