२३ पुष,एजेन्सी ।
प्रहरीको गोली लागेर स्थानीय युवाको ज्यान गएपछि अशान्त बनेको सर्लाहीको बरहथवा सामान्य अवस्थामा फर्किएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच ११ बुँदे सहमतिपछि गोली लागेर ज्यान गुमाएका बरहथवा नगरपालिका– ६ का युवा जयशंकर साहको शव उठाइएपछि बरहथवा सामान्य अवस्थातर्फ फर्किएको हो ।
आन्दोलित स्थानीयले राखेका मागको सम्बन्धमा स्थानीय स्तरमा सम्बोधन हुने माग तत्काल कार्यान्वयनमा लैजाने र स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शड्ढयाको बनाउने, अस्पतालको नाम मृत्यु भएका जयशंकर साहको नाममा राख्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमति भएको हो ।
आन्दोलित पक्षले आइतबारबाटै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नगर अस्पतालको स्तरोन्नति गर्ने विषयमा भएको आन्दोलनका क्रममा गत शुक्रबार प्रहरीको गोली लागेर साहको ज्यान गएको थियो । त्यसपछि थप आक्रोशित प्रदर्शनकारीले तीन दिनदेखि मृतकको शव घटनास्थलमै राखेर प्रदर्शन गरिरहेका थिए ।
शनिबार केही शान्त देखिएको बरहथवा बजार क्षेत्रमा आइतबार एक्कासि तनावको स्थिति बनेपछि स्थानीय प्रशासनले दिउँसो कफ्र्यु आदेशसमेत जारी गरेको थियो । तर, प्रदर्शनकारीले कफ्र्युका बीच इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गर्नुका साथै प्रहरी कार्यालयभित्र रहेको प्रतीक्षालयमा आगजनी गरिदिएका थिए ।
त्यसको प्रतिकारमा प्रहरीले साझमा स्थानीयको घर भित्रै प्रवेश गरी लाठी प्रहार गरेको भन्दै प्रहरी प्रशासनको आलोचना समेत भएको थियो ।