५ माघ, काठमाडौं ।
काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो ।
अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन् । उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् । ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।
“अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सीका कारोबारी भएको बुझिएको छ । पछिल्लो समय हुन्डी कारोबारी क्रिप्टोमा पनि जोडिने गरेको पाइएको छ,” निर्देशक ढुंगानाले भनेका छन् “उनको संलग्नता के–केमा छ, अनुसन्धानबाट थप प्रष्ट हुनेछ । विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताएका छन् ।
‘क्रिप्टो र हुण्डीको कारोबार गर्थे भन्ने सूचना नै आएको हो। जुन क्षेत्रमा सुनको अवैध कारोबार भएको भनेर सूचना आउँछ त्यहाँ उनको कपडा पसल छ। अवैध सुनको कारोबारमा पनि उनको संलग्नता रहन सक्ने शंका छ,’ ढुंगानाले भनेका छन् । पक्राउ परेका अग्रवालमाथि आजबाट थप अनुसन्धान अगाडि बढाइने ढुंगानाले जानकारी दिएका छन्।