विराटनगर,भदौ २६
प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले प्रदेशका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ । संविधान कार्यान्वयनका लागि प्रदेशले बनाउनुपर्ने २२ वटा कानुनका सन्दर्भमा भने प्रदेश सरकारपनि संघीय कानुन पर्खिरहेको छ । प्रदेश सभाको ४१ औ सभा बैठक सम्पन्न हुँदासम्म प्रदेशसभाबाट अहिलेसम्म २० वटा विधेयक पारित भएका छन् भने दुई वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् ।
प्रदेश सभा सचिवालका अनुसार प्रदेश सभा बैठकले आवश्यक कानुन निर्माणलाई मुख्य कार्यभारका रुपमा लिएर कानुन निर्माणको चरणलाई तिव्रता दिएको जनाएको छ । प्रदेश सभा सचिवालका अनुसार प्रदेश सभाको पहिलो अधिवेशनबाट ११ वटा र दोश्रो अधिवेशनबाट थप ९ वटा विधेयक पारित भएको छ । पहिलो अधिवेशनबाट प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४,प्रदेश विनियोजन विधेयक, २०७४, प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न विधेयक, गाउँ सभा र नगर सभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक र प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।
त्यसैगरी, जिल्ला सभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक, मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकतथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ तथा नगर सभाका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।
त्यसैगरी दोश्रो अधिवेशनबाट प्रदेश रेडियो एफ एम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५,विनियोजन विधेयक २०७५,आर्थिक विधेयक २०७५,अन्तर प्रदेश बासिन्दाको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५,जिल्ला सभाको काम ,कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५,प्रशासकीय कार्यविधि नियमिति गर्न सम्बन्धमा बनेको विधेयक २०७५,प्रदेश नम्वर १ सामाजिक बिकास संस्था विधेयक २०७५,प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको विधेयक २०७५ र प्रदेश नं १ वित्त व्यवस्थापन गर्न बनेको विधेयक २०७५ पारित गरेको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले कानुन निर्माणको चरणमुख्य प्रदेश सभाको अहिलेको कार्यभार रहेकाले सोही अनुसार विभिन्न मन्त्रालयबाट तयार पारी प्रदेश सभा बैठकमा पेश भएका विधेयकको आवश्यक छलफल गरी विधेयक पारित गरी आवश्यक कानुन निर्माण गर्नतर्फ प्रदेश सभा लागि परेको जानकारी दिए । प्रदेश १ मा नेकपाको प्रष्ट दुई तिहाइ छ । कुल ९३ जना सदस्य मध्ये नेकपाका ६७ जना कांग्रेस २१, संघिय समाजवादी ३, राप्रपा र लिम्बुवान १ जना सदस्य रहेका छन् ।