१५ माघ, काठमाण्डौ ।
दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेटमा मंगलबारबाट सुपर सिक्स चरणका खेलहरु हुँदैछन् । नेपालले जारी विश्वकपमा सुपर सिक्सको यात्रा तय गरिसकेको छ । समूह चरणमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै सुपर सिक्स पुगेको नेपाली टोली अब अर्को अभियानमा पनि आफूलाई परिष्कृत गर्दै टेस्ट राष्ट्रविरुद्ध जितको लक्ष्यमा रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले प्रतियोगिताको दोस्रो चरणमा ६÷६ टोलीका दुई वटा समूह बनाएर सुपर सिक्स खेलाउदै छ । भोलि सुपर सिक्सका ३ खेल हुने छन् । जहाँ न्युजिल्यान्ड र भारत तथा श्रीलंका र वेस्ट इन्डिज भिड्दा अर्को खेलमा आयरल्यान्ड र पाकिस्तान भिड्नेछन् ।
नेपालले भने सुपर सिक्सको पहिलो खेलमा बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्स खेल्ने सबै १२ टोलीको तय हुँदा समूह चरणमा बलियो नतिजासहित सुपर सिक्स पुग्ने टोली सेमिफाइनलका लागि मुख्य दाबेदारका रूपमा रहेका छन् । सुपर सिक्सको एउटा समूहमा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड रहँदा सुपर सिक्सको अर्को समूहमा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् ।
दुबै समूहका शीर्ष २–२ टोलीबीच सेमिफाइनल खेल हुनेछ । अन्य सुपर सिक्सभन्दा जारी विश्वकपको सुपर सिक्स फरक छ । समूहमा ६ वटा टोली भए पनि हरेकले सबैसँग खेल्दैनन् । पहिलो चरणमा खेलेका टोलीसँग फेरी प्रतिस्पर्धा गर्नुपर्दैन । नेपाल आफ्नो समूहको तेस्रो भएकाले अर्को समूहबाट तेस्रो भएर आउने टोलीसँग पनि प्रतिस्पर्धा गर्नु नपर्ने नियम छ ।
त्यसैले नेपालले सुपर सिक्समा केवल दुईवटा खेल खेल्ने छ । समूहमा रहने अन्य ५ टोलीले पनि २÷२ खेल खेल्नेछन् । त्यसो हुँदा सुपर सिक्समा नेपालले दुई खेल खेल्ने छ । नेपालले भारत र बंगलादेशसँग खेल्ने छ । समूह चरणमा आफूले पराजित गरेको टोली सुपर सिक्समा पुगेमात्र अंक ‘क्यारी’ हुने भएकाले नेपालको सेमिफाइनल सम्भावना भने निकै कमजोर छ ।
नेपालले ‘सुपर सिक्स’ मा बंगलादेश र भारतलाई हराए पनि सेमिफाइनल पुग्नका लागि अंक पर्याप्त नहुन सक्छ । आफ्नो जितसँगै अन्य टोलीको नतिजासमेत भरपर्नु पर्ने छ । यस्तोमा नेपालको नतिजाले उपाधि दाबेदार टोलीलाई बाहिर पठाउने या सेमिफाइनल पठाउने निर्णयमा भने प्रभावकारी ठहरिन सक्छ । समूह चरणमा नेपालले अफगानिस्तानलाई मात्र हराएको थियो ।
अफगानिस्तान समूह चरणबाटै बाहिरियो, त्यसैले नेपाल शून्य अंकका साथ ‘सुपर सिक्समा’ छ । पाकिस्तान र भारत दुवै समूह विजेता बन्दै ४–४ अंकका साथमा ‘सुपर सिक्स’ मा रहँदा नेट रनरेट पनि उनीहरुको निकै राम्रो छ । यस्तोमा नेपालले भारत र बंगलादेशलाई हराएपनि सेमिफाइनल नपुग्ने सम्भावना प्रवल छ । त्यस्तै समूहमा न्युजिल्यान्ड र बंगलादेश २–२ अंकका साथमा रहँदा नेपाल र आयरल्यान्डमात्र अंकविहीन छन् ।