माओवादीबाट कुटिएकी चिनियाँलाई देश निकाला

१८ माघ ८०, बिहीबार
Share this
699shares

१८ माघ,काठमाडौं ।जाजरकोटमा राहत विवरण सम्बन्धमा भएको विवादका कारण कुटपिटमा परेकी चिनियाँ महिला अवैध रुपमा नेपालमा बसिरहेको खुलासा भएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट (नेपालबाट निष्कासनको निर्णय) गरेको छ ।

Advertisement

निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा रहेको पाइएपछि अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तोकेर उनी डिपोर्ट गरिएकी हुन् । अध्यागमन विभागले सोउ भिसा अवधिभन्दा बढी नेपालमा बसेको पाइएको भन्दै गत २८ मंसिरमा गृहमन्त्रालयलाई पत्र पठाएको थियो ।

विभागले कानुनअनुसार उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नका लागि गृहमन्त्रालयलाई अनुरोध गरेको थियो । विभागको पत्रअनुसार गृह मन्त्रालयले निष्काशन गर्ने निर्णय गरेको थियो । मन्त्रालयले २ पुसमा चिनियाँ नागरिक सोउ भिसा नियमित नगरी ओभरस्टे भएको पाइएको भन्दै निष्कासन गर्ने निर्णय गरि पठाएको हो ।

Advertisement

विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘यसरी ओभरस्टे गर्ने विदेशी नागरिकलाई अध्यागमन कार्यविधिअनुसार जारी भिसा वर्षभित्र नेपाल प्रवेश गर्न नपाउने गरी डिपोर्ट गर्ने गरिएको’ बताएका छन् । जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेका बेला सोउमाथि २० मंसिरमा हातपात भएको थियो ।

सोही विषयलाई लिएर माओवादी केन्द्रले पार्टीका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीलाई स्पष्टीकरण समेत सोधेको थियो । माओवादी केन्द्रको २८ पुसमा बसेको स्थायी समिति बैठकले सोधेको लिखित स्पष्टीकरणको केसीले ५ माघमा जवाफ लेखेका थिए ।

Advertisement

जवाफमा केसीले पार्टी महासचिव देव गुरुङमाथि शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेका थिए । स्पष्टीकरण पत्रमा गुरुङले आफन्तका लागि चिनियाँहरूको प्रोजेक्ट मिलाएको आरोप लगाएका छन् ।

केसीले उनले सो प्रोजेक्टबाट भ्रष्टाचार गरेर हुने आम्दानीमा गुरुङ समेत हिस्सेदार रहेको विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् । आफ्नो ६ पाना लामो स्पष्टीकरणमा उनले राज्य शक्तिको दुरुपयोगबाट केही गर्न नसक्ने देखिएपछि प्रदेश अध्यक्ष विमला केसीसमेतको दबाबमा देव गुरुङले आफूलाई पार्टीबाट निकाल्न स्थायी कमिटीमा प्रस्ताव गरेको दाबी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top