पुटिनका प्रतिद्वन्द्वीको उम्मेदवारी नै खारेज

२६ माघ, एजेन्सी ।

रुसमा आगामी महिना राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । यो चुनावमा भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफूविरुद्ध उठेका बोरिस नादेज्दिनको उम्मेदवारी खारेज भएको छ । त्यहाँको निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै नादेज्दिनले सामाजिक सञ्जालमा बताएका थिए ।

पुटिनले युक्रेनमा छेडेको युद्धको बोरिस कट्टर विरोधी र आलोचक थिए । निर्वाचन आयोगका अनुसार नादेज्दिनको आवेदन फारममा १५ प्रतिशत हस्ताक्षरमा गडबडी छ । नादेज्दिनले निर्वाचन आयोगको यो दाबीलाई चुनौती दिने प्रयास गरेका थिए । तर आयोगले उनको उम्मेदवारी अस्वीकार गरिदियो ।

Advertisement

आफूले हार नमानेको अनि आयोगको यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिने नादेजदिनले सामाजिक सञ्जालमा भनेका छन् । ‘मैले रुसभरबाट २ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरेको थिएँ । हामीले यो सबै पूरा इमानदारी र पारदर्शिताका साथ गरेका थियौँ’ उनले भनेका छन् ।

नादेज्दिनले सङ्कलन गरेका हस्ताक्षरमध्ये ९ हजारभन्दा बढी अवैध रहेको केन्द्रीय निर्वाचन आयोगको दाबी छ । उनको निवेदनमा जम्मा ९५ हजार ५८७ हस्ताक्षर मात्रै वैध थिए । उम्मेदवार बन्न कम्तीमा एक लाख हस्ताक्षर चाहिएको थियो । रुसमा यही मार्च १५ देखि १७ को बीचमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

Advertisement

उक्त निर्वाचनमा को–को उम्मेदवार बन्दैछन् भन्ने अन्तिम निर्णय शनिवार हुनेछ । पुटिनले पाँचौं पटक चुनाव लड्दै देशको जिम्मेवारी सम्हाल्ने विश्वास गरिएको छ। चुनावअघि पुटिनको जित निश्चित मानिन्छ किनभने उनलाई चुनौती दिने उनका सम्भावित प्रतिद्वन्द्वी या त जेलमा छन् वा विदेशमा छन्। एकै समयमा, अधिकांश स्वतन्त्र मिडिया प्रतिबन्धित छन्।

यस्तो अवस्थामा मार्चमा हुने निर्वाचनका कारण पुटिन कम्तिमा २०३० सम्म सत्तामा रहने प्रबल सम्भावना छ। उनले संविधान नै संशोधन गरी त्यो सुनिश्चित गरेका हुन् । यसैबीच रुस र युक्रेनबीच युद्ध जारी छ। रसिया युद्धमा फसेको छ तर उसले आफ्नो नयाँ भूभाग भनी बोलाएको क्षेत्रमा पनि मतदान हुने जनाएको छ।युक्रेनको केही भू–भाग पनि रुसी सेनाको नियन्त्रणमा आएको छ।

युक्रेनले आफूले कब्जा गरेको क्षेत्रबाट सबै अन्तिम सैनिकलाई नहटाउँदासम्म आराम नगर्ने बताएको छ। रूसमा लगभग ११० मिलियन मानिसहरूलाई मतदान गर्ने अधिकार छ, तर सामान्यतया लगभग ७०–८० मिलियन मानिसहरूले मात्र मतदान गर्छन्। यसअघि सन् २०१८ मा ६७.५ प्रतिशतले मतदान गरेका थिए। पुटिन सन् १९९९ मा पहिलो पटक रुसको राष्ट्रपति बनेका थिए।

सन् १९९९ को अन्तिम दिन उनलाई बोरिस येल्तसिनले राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए,त्यसपछि पुटिनले जोसेफ स्टालिनपछिका कुनै पनि रुसी शासकभन्दा लामो समयसम्म यो पदमा काम गरेका छन्। राष्ट्रपति नियुक्त भएपछि पुटिनले २००० को राष्ट्रपति चुनावमा ५३.० प्रतिशत र २००४ को चुनाव ७१.०३ प्रतिशत मत ल्याएर जितेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top