२६ माघ, काठमाण्डौ ।
राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा आरोपी तत्कालीन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई सरकारले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ । अधिकारीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रस्टको कार्यकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
संघीय मामिला मन्त्रालयमा बसिरहेका अधिकारीलाई नेपाल ट्रष्टको कार्यालयको जिम्मेवारी दिइएको हो । नेपाल ट्रष्टको सञ्चालक समितिमा पदेन अध्यक्ष रहने गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुन् । अनुसन्धान नसकिँदासम्मका लागि भन्दै जगेडामा राखिएका अधिकारीलाई नयाँ जिम्मेवारी दिइएको छ ।
उनलाई गृहमन्त्री श्रेष्ठ निकट मानिन्छ । यसअघि उनलाई चीनबाट नेपाल ल्याइएको करिब ६० किलो सुन प्रकरणका मुख्य अभियुक्तसँग नियमित सम्पर्कमा रहेको देखिँदा पनि अध्यागमन विभागबाट तानिएको थियो । अधिकारीलाई गत भदौ ७ गते अध्यागमन विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको थियो ।
गत साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका र सिआइबीले मुख्य अभियुक्त बनाएका दावा छिरिङसँग अधिकारीको नियमित सम्पर्क रहेको विवरण बाहिरिएको थियो । राजस्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग महानिर्देशक अधिकारीको वीच्याटमा आर्थिक लेनदेनसमेतको कुराकानी भएको देखिएको थियो ।
उनी २०७९ फागुन १७ गतेदेखि अध्यागमन विभागका महानिर्देशक थिए । उनकै कारण तस्करीलाई बल पुगेको सीआईबीको दाबी थियो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले अधिकारीसँग बयान लिइसकेको छ । भियना होटलका मालिक दावा छिरिङ अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदानप्रदान विवरण पनि प्रहरीले भेटाएको थियो ।
सीआईबीले विच्याटमा अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानबारे कुराकानी भएको थियो । अधिकारी र दावाबीच २०७८ असार ७ यता निरन्तर संवाद हुने गरेको देखिएको थियो । २०७९ साउन ५ देखिका संवादमा भने राम्रो काम भएको भन्दै आर्थिक लाभको कुराकानी भएको देखिएको थियो ।