२९ माघ , काठमाण्डौ ।
अमेरिकामा रहँदै आएका चर्चित ब्लड डोनर(रक्तदाता) अर्जुन मैनालीले आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको छ ।
कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ । मैनालीले दुई सय पटकभन्दा बढी रक्तदान गरेका थिए । मैनालीको शव नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लगेको छ । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ ।
आत्मदाहा गर्नुअघि मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै यसबारे बताएका थिए । श्रीमती तारालाई सम्बोधन गर्दै उनले लेखेका छन्, आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०ः१५ बजे तिनिहरुका ९–१० बर्षकी छोरी, १३–१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थियो, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन । उनी अगाडी लेख्छन्, छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो। आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन । गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दुःखले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दुःखत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन ।”
काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७÷०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । सुरुमा उनी न्यूयोर्कमा बस्ने गर्थे । अहिले नर्थ क्यारोलिनामा परिवारसहित बसिरहेका थिए । उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा सानै छन् । मैनालीका साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् । मैनालीले आफ्नो स्टाटसमा उनै साला र उनकी पत्नीप्रति गुनासो गरेका हुन्।