११ फागुन, एजेन्सी ।
साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाली महिला टोली सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।समूहगत चरणको बिहीबार राति सम्पन्न खेलमा प्यालेस्टाइनले सिरियालाई १–० गोलले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो ।
समूह ‘बी’ बाट नेपालसँगै प्यालेस्टाइन पनि आफ्नो एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । सिरिया र इराक भने समूहगत चरणबाटै बाहिरिएका छन् । समूहगत चरणको अन्तिम खेल शनिबार खेलिने छ । शनिबारको खेलमा नेपालले प्यालेस्टाइन र सिरियाले इराकको सामना गर्नेछन् । उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ ।
नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा सिरियालाई ४–१ गोलको फराकिलो अन्तरले हराएको थियो । सिरियाविरुद्धको खेलमा नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक–एक गोल गरेका थिए । यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा इराकमाथि ५–० गोलको फराकिलो अन्तरको जित हासिल गरेको थियो ।
बिहीबार खेलिएको इराकविरुद्धको खेलमा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेकी थिइन् । अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल सङ्ख्या पनि ५० पुगेको छ । सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् । निर्धारित समयको १४औँ मिनेटमा पहिलो गोल गरिन् ।
त्यसको एक मिनेटपछि नै उनले नेपालको अग्रता दोब्बर बनाइन् । सावित्राले खेलको ३६औँ मिनेटमा तेस्रो र ४३औँ मिनेटमा चौथो गोल गरेकी थिइन् । खेलको दोस्रो हाफमा पनि नेपालले एक गोल थपेको थियो । नेपालका लागि पाँचौँ गोल पनि सावित्राले नै गरिन् । उनले पाँचौँ तथा अन्तिम गोल निर्धारित समयको ७९औँ मिनेटमा गरेकी थिइन् ।
नेपाली टोलीले प्रतियोगितामा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाएको हो । प्रतियोगिताको समूह ‘ए’ मा जोर्डन, लेबनान, साउदी अरेबिया र ग्वाम रहेका छन् । उक्त समूहबाट जोर्डन र लेबनान यसअघि नै नकआउट चरणमा पुगिसकेका छन् । यी दुवै टोलीले समूहगत चरणमा दुई–दुई जित हासिल गरिसकेका छन् ।