१४ फागुन, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गृहनगर गुजरातमा भारतकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । २ किलोमिटर ३२० मिटर लामो यो पुलले बेट द्वारका दीपलाई ओखासँग जोड्नेछ । समाचार एजेन्सी एएनआईका अनुसार यसअघि यस पुललाई सिग्नेचर ब्रिजका नाममा चिनिन्थ्यो । अब यसलाई ’सुदर्शन सेतु’ नाम दिइएको छ । बेट द्वारका मुख्य द्वारका सहरबाट करिब ३० किलोमिटर पर ओखा बन्दरगाह नजिक एक टापु छ ।
भगवान् श्रीकृष्णको प्रसिद्ध द्वारकाधीश मन्दिर यहीँ अवस्थित छ । मोदीले उद्घाटनअघि यस पुललाई ’गुजरातको विकास यात्राको एक अहम अवसर’ भनेका छन् । उनले बेट द्वारका मन्दिरमा पूजाअर्चना पनि गरेका छन् । यस पुललाई यहाँका बासिन्दा र द्वारकाधीश मन्दिरमा आउने श्रद्धालुका लागि धेरै महत्त्वपूर्ण मानिएको छ ।
ओखा र बेट द्वारकाबीच आउन जान सहज बनाउनका लागि यस परियोजनाको शुरुवात सन् २०१७ मा भएको थियो । पहिले डुंगाबाट मात्रै यस द्वीपमा जान सकिन्थ्यो । यस पुलको निर्माणमा ९७८ करोड भारतीय रुपैयाँ खर्च भएको छ । यस पुलमा सोलर प्यानल जडान गरिएको छ । जसबाट एक मेगावाट बिजुली निस्किन्छ ।
यसैबीच मोदीले आजको दिनलाई भारतीय रेलवेका लागि एक ऐतिहासिक दिन भएको बताएका छन् । सामाजिक संजालमा यसबारे जानकारी दिदै मोदीले भनेका छन्, आज दिउँसो १२ बजे देशलाई हजारौं करोड रुपैयाको सौगात मिल्नेछ । जसमा कयौं रेलवे र अन्य पूर्वाधार विकासका परियोजनाहरु समेटिएका छन् ।
आज मोदीले भिडियो कन्फ्रेन्समार्फत ४१ हजार करोडभन्दा धेरैको लगभग २ हजार रेलवे र अन्य विकासका परियोजनाहरुको शिलान्यास र उद्घाटन गर्दैछन् । उनले प्रधानमन्त्री अमृत भारत स्टेशन योजना अन्तर्गत ५५३ रेलवे स्टेशनहरुको पुनर्निकासको शिलान्यास गर्दैछन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, सिंगो भारतमा ओभरब्रिज र अंडरपासको पनि उद्घाटन गरिने छ । यो कार्यले मानिसहरुका लागि ’ईज अफ लिभिंग’ लाई अगाडि बढाउने छ । मिडिया रिपोर्टका अनुसार, ५३३ रेलवे स्टेशनहरु सबै राज्य र केन्द्रशासित प्रदेशहरुबाट चुनिने छ ।