१९ चैत , काठमाण्डौ ।
यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या २८ हजार ७ सय ४१ ले बृद्धि भएको हो । यो कारोना महामारीपछि पर्यटक आगमनमा सुधार भएको हो ।
यसअघि सन् २०१८ को नोभेम्बरमा एक लाख ४७ हजार ८५९ पर्यटक नेपाल भित्रिएका थिए । तर, विश्वभरी नै कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएको थियो । गत वर्षको मार्चमा भने ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल आएका थिए । यो मार्चमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।
मार्चमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यस महिनामा भारतबाट ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट १२ हजार ९३ जनाले नेपाल भ्रमण गरेका छन् । तेस्रो स्थानमा रहेका यूएसएबाट १० हजार ७६३, चौथो स्थानमा रहेको यूकेबाट सात हजार २४१ पर्यटक नेपाल आएका छन् ।
श्रीलंकाबाट पाँच हजार ७४१, जर्मनीबाट चार हजार २५५, थाइल्यान्डबाट चार हजार ५६७, अस्ट्रेलियाबाट चार हजार ३४५ फ्रन्सबाट तीन हजार २४० र म्यानमारबाट तीन हजार १३१ पर्यटक नेपाल आएका छन् । क्षेत्रीय हिसाबले हेर्दा एसिया(सार्क) बाट ४० हजार ७२७, एसियाका अन्यक्षेत्रबाट २८ हजार ६४८, युरोपबाट २७ हजार ५८२, ओसनियाबाट ४ हजार ७८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् ।