२३ चैत , विराटनगर।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेलाई दोषी ठहर भएको बलात्कार मुद्यामा आज पाटन उच्च अदालतमा पेशी रहेको छ । आज अदालतमा मुद्याको पुनरावलोकन हुने कि नहुने तय हुने छ । गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्यामा दोषी ठहर गरेको थियो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलात्कार मुद्यामा दोषी ठहर गर्दै किशोरी भने नाबालिक नरहेको फैसला सुनाएको थियो । सन्दीपलाई ८ वर्ष कैद, ३ लाख जरिवान र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो । त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए ।
सन्दीप उच्च अदालत पुगेलगत्तै १ चैत्रमा सरकारी पक्षपनि पीडित गौशला २६ नाबालिक रहेको भन्दै उच्च अदातल पुगेको छ । अदालतले आजका लागि पेशी तोकेको छ । अपिलकर्ताले उच्च अदालतसमक्ष तल्लो अदालतको आदेशमा गम्भीर त्रुटि भएको भन्दै अपिल गर्नेछन् । त्यसपछि अदालतले मुद्यालाई पुनरावलोकन गर्ने कि नगर्ने निर्णय लिने छ ।
सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दुबै पक्ष उच्च अदालतमा पुगेकाले स्वभाविकरुपमा मुद्या पुनरावलोकन हुने विश्वास ब्यक्त गरेका छन् । उनले भने, दुबै पक्ष अदालतमा पुगेपछि स्वभाविकरुपमा मुद्याको पुनरावलोकन हुन्छ । आज मुद्यामा हामीले जिल्ला अदालतबाट भएका गम्भीर त्रुटिहरुको उठान गर्ने छौं ।
उच्चले यसअघि चैत्र १५ गते पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो । सन्दीपले अदालतमा हाजिर भएर पेशी बुझेका थिए । अदालतले जिल्लाको फैसला सदर गरे सन्दीप जेल जानुपर्नेछ भने पुनरावलोकन गरे अदालतको नयाँ फैसला वमोजिम हुनेछ । अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेसँगै क्यानले सन्दीपलाई क्रिकेटबाट निलम्बन गरिसकेको छ ।