११ वैशाख , काठमाण्डौ।
राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलो पटक आज औपचारिक रुपमा नेपाल भ्रमणमा आउदैछन् । यसका लागि आज सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।
अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् । उनी आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ । अतिविशिष्ट व्यक्ति (भीभीआईपी) उडानका लागि नोटाम जारी भएको समयमा सामान्यतया अन्य वायुसेवा कम्पनीका जहाजहरुको उडान–अवतरण हुँदैन ।
‘आकस्मिक अवस्थामा उडान–अवतरण हुन सक्छ’, उनले भने, ‘सामान्य अवस्थामा भीभीआईपी उडानलाई प्राथमिकता दिइन्छ ।’ राजा निजी जहाजमा आउने तयारी छ । उनको जहाज राख्न पार्किङ बे समेत खाली राखिने छ । राजासँगै सहयोगीहरुका अरू जहाज आउने–नआउने बारे भने खुलाइएको छैन । बुधबार राजा फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ ।
राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ । यसअघि परराष्ट्र मन्त्रालयले अमिर नेपाल आउन लागेको आधिकारिक घोषणा गरेको थियो । उनको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको छ । नेपाल भ्रमणमा रहँदा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ ।
उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् । भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । थानी २४ अप्रिलमै काठमाडौंबाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।