नेपाली टेबलटेनिस ओलम्पिक्समा पहिलो पटक छनोट

नेपाली टेबलटेनिस ओलम्पिक्समा पहिलो पटक छनोट

३ जेठ , काठमाण्डौ ।

नेपालका स्यान्टु श्रेष्ठ आगामी पेरिस ओलम्पिक्सका लागि छनौट भएका छन् । टेबलटेनिसको दक्षिण एसियाली क्षेत्रीय छनौट प्रतियोगितामा फाइनल जितेसँगै स्यान्टु ओलम्पिक्सका लागि छनौट भएका हुन् ।

स्यान्टुले बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई ४–३ सेटले हराएका थिए । स्यान्टु र संयोगबीच को ओलम्पिक्समा पुग्ने भनेर निकै कडा प्रतिस्पर्धा भएको थियो ।

सो खेलमा स्यान्टु ११–७, ८–११, ११–७, ११–६, ८–११, ८–११, ११–९ ले विजयी भएर पेरिसको टिकट कटाउन सफल भए । यो छनौट प्रतियोगिताबाट पुरुष र महिला एकलतर्फका विजेता खेलाडी मात्रै ओलम्पिक्समा छनौट हुने प्रावधान रहेकोअनुसार स्यान्टुले ओलम्पिक्स खेल्ने तय गरेका हुन् ।

साथै नेपाली टेबलटेनिस ओलम्पिक्समा छनौट भएको पनि यो पहिलो अवसर हो । यो इतिहास नै बनेको पूर्व टेबलटेनिस खेलाडी तथा प्रशिक्षक धर्ममान वज्राचार्यले बताए । वज्राचार्य भन्छन्, अहिलेसम्म नेपाली टेबलटेनिस ओलम्पिक्समा पुग्नै सकेको थिएन ।

अहिले अवसर आयो र नेपाली खेलाडीले त्यो अवसरलाई खेर जान दिनुभएन । यो हाम्रो लागि गर्वको कुरा भएको छ । स्यान्टू छनौट चरण पार गरेर ओलम्पिक्समा पुग्ने तेस्रो नेपाली खेलाडी समेत बनेका छन् ।

यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले छनौट चरण पार गरेर ओलम्पिक्समा खेलेका थिए । सन् २००४ मा ग्रीसको एथेन्समा भएको ओलम्पिक्समा संगीना र सन् २००८ मा चीनको बेइजिङमा भएको ओलम्पिक्समा दीपकले प्रतिस्पर्धा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.