२७ असार, एजेन्सी ।
दक्षिणको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुसको दुई दिने भ्रमण पूरा गरी युरोपेली राष्ट्र अस्ट्रिया पुगेर विश्व शान्ति र बुद्धको चर्चा गरेका छन् । अष्ट्रियामा भारतीय प्रधानमन्त्रीका रुपमा ४० वर्षपछि पुगेका मोदीले भारतले विश्वलाई शान्तिका दूत बुद्ध दिएको बताएको बीबीसीले जनाएको छ । अस्ट्रियाको भियनामा भारतीय समुदायमाझ उनले बुद्ध भारतमा नै जन्मिए जसरी विश्वलाई भारतले बुद्ध दिएको जिकिर गरेका हुन् ।
सम्बोधनका क्रममा मोदीले भने, “हजारौँ वर्षदेखि हामी आफ्नो ज्ञान र विशेषज्ञता बाँड्दै आएका छौँ । हामीले ‘युद्ध’ दिएनौँ, हामीले विश्वलाई ‘बुद्ध’ दिएका छौँ । भारतले सधैँ शान्ति र समृद्धि दिएको छ ।” यसैकारण भारत पछिल्ला दिन शक्तिशाली बन्दै गएको उनको भनाइ थियो । अस्ट्रियाका चान्सलर कार्ल नेहामरसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले युक्रेनमा शान्तिको अपील गर्दै यो युद्धको युग नभएको बताएका छन् ।
उनले भने, ‘आज मेरो र नेहमरबीच निकै फलदायी कुराकानी भयो । ‘चान्सलर नेहमर र मैले विश्वमा चलिरहेका सबै विवादहरू, चाहे त्यो युक्रेनको द्वन्द्व होस् वा पश्चिम एसियाको अवस्थाबारे विस्तृत रूपमा छलफल गरेका छौं। मैले पहिले पनि भनेको छु कि यो युद्धको समय होइन। उनले युद्धको मैदानमा समाधान खोज्न नसकिने बताए ।
मोदीले थप भने, ‘युद्धको मैदानमा समस्या समाधान हुन सक्दैन । युद्धमा निर्दोषको ज्यान जाने, जहाँसुकै भए पनि स्वीकार्य हुँदैन । भारत र अस्ट्रियाले शान्ति पुनर्स्थापनाका लागि वार्ता र कूटनीतिमा जोड दिएका छन्। यसका लागि हामी दुबैजना हरसम्भव सहयोग गर्न तयार छौं । युक्रेन युद्धसँगै मोदीले आतंकवादको निन्दा गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको तीनदिने भ्रमण सम्पन्न गरी बिहीबार बिहान स्वदेश फर्किएका छन् । उनी रुस हुँदै अस्ट्रिया गएका थिए । उनको रुस भ्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आलोचना गरेका छन् ।