त्रिशुलीमा बेपत्ता भएकामध्ये ५ जनाको शव भेटियो ,९० जनाको टोली खोजीमा, अझै ५७ जनाको अवस्था अज्ञात

३० असार ८१, आइतबार

३० असार ,काठमाण्डौ।

Advertisement

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुई वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरुमध्ये हिजो र आज गरी ५ जनाको शव भेटिएको छ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनारमा आज विहान एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।

शनिबार पनि सोही ठाँउ नजिकै दुईवटा शव भेटिएका थिए । अहिलेसम्म नारायणी नदीले बगाएका ५ वटा शव फेला परेका छन् । यसअघि आज बिहानमात्रै अर्का एक जनाको शव फेला परेको थियो भने हिजो शनिबार तीनको शव फेला परेको थियो । उनीहरूको सनाखतसमेत भइसकेको छ । हिजो भेटिएका २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु हुन् ।

Advertisement

अहिलेसम्म फेला पर्न नसकेको दुई वटा बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ । काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा थप ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् । बसको चलानीमा २७ जना उल्लेख भए पनि बीचमा विभिन्न ठाउँबाट यात्रुहरु चढेको भनेर विवरण टिपाएका हुन् ।

आफन्तहरुले टिपाएको विवरण समेतलाई जोड्दा बसमा ३८ जना यात्रु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको नोटमा उल्लेख गरिएको छ । यस्तै, वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बसको चलानीमा २३ यात्रु देखिए पनि बीचबाट थप ४ जना यात्रु चढेको पाइएको छ । चलानीमा उल्लेख नभएका दुवै बसमा गरेर थप १५ यात्रु यात्रारत रहेको देखिएको हो ।

Advertisement

घटनामा कुल ६५ यात्रु परेको देखिएको, ती मध्ये ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ३ जनाको सनाखत भएको र अर्को एक जनाको सनाखत हुन बाँकी छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ ।

आज तेस्रो दिन पनि बस खसेको स्थानबाट झण्डै १ किलोमिटर तलबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्धारकर्मीहरुले बस र यात्रुको खोजी सुरु गरेका छन् । खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ । त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल अर्थात् भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी कार्य गर्नेछ ।

त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदल गस्ती गर्दै खोजी कार्यको लागि परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजी कार्य गर्न असहज भएको बताइएको छ । यी डिभाइसहरूले सफा पानी तथा ताल र पोखरीमा जमेको पानीमा खोजी कार्यको लागि प्रयोग गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top