८ साउन , एजेन्सी ।
एसिसी महिला एसिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ ।
१–१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ ।
पछिल्लो खेलमा पाकिस्तान विरुद्ध हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आज भारविरुद्धको खेल जित्नै पर्ने दबाब छ । तर सो नतिजा नेपालका लागि निकै कठिन रहेको छ ।
समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।
पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ । पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि , पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ ।
पाकिस्तानले युएई विरुद्ध हार बेहोर्ने सम्भावना नै न्युन छ । पछिल्लो खेलमा पाकिस्तान विरुद्ध १० विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो ।
तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । एसिया कपमा युएईविरुद्धको जित नै नेपालको पहिलो जित हो ।
अपराजित रहेको भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ । यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सोमबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ ।
आईसीसीले गरेको पछिल्लो निर्णयले विश्वकपमा पुग्न नेपाललाई केही सहज हुने भएको छ । बैठकले सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा परिवर्तन गरेको छ ।
जसअनुसार अब युरोप र अफ्रीकाबाट २–२, अमेरिकाबाट १ तथा एसिया र इस्ट एसिया प्यासिफिक (इएपी) क्षेत्रबाट ३ टोली छनोट हुनेछन्। यसअघि एसियाबाट २ र इएपीबाट १ टोली छनोट हुने प्रावधान थियो ।
एसियाबाट विश्वकपमा पुग्न मुख्य गरी नेपाल, ओमान, यूएई र हङकङ दाबेदार रहने गरेकोमा तीन टोली हुँदा नेपाललाई केही सहज हुने भएको छ । अब क्षेत्रीय स्तरमा छनोट खेलेपछि अन्तिम चरण छनोट भने एकसाथ हुनेछ ।
यससँगै अब नेपालसँगै अन्य राष्ट्रले छनोटको सेमिफाइनलमा पराजित भएपनि विश्वकपमा पुग्न अर्को अवसर पाउने समीकरण बन्नेछ । यसले एसोसिएट क्षेत्रको बलियो मानिने नेपाल, यूएई र ओमान तीनै टोली एकसाथ विश्वकपमा छनोट हुने ढोका पनि खुलेको छ ।