१३ साउन,काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निश्कासित भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । पूर्वमहामन्त्री ढकालले पदाधिकारी हेरफरबारे पार्टी बैठकको निर्णयविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
पदाधिकारी हेरफेर गर्ने बैठकलाई अवैधानिक भन्दै उनले त्यसले गरेका निर्णयहरू पनि गैरकानुनी भन्दै बदरको मागसहित निर्वाचन आयोगमा उनले निवेदन दिएका हुन् । २५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय समिति सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
‘यद्यपि, मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन’, निर्वाचन आयोगमा दिएको निवेदनमा उनले भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लािग त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु ।’
पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेखेका छन् ।राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन् ।
पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ ।कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ । पार्टीले कारबाही गरिसकेपछि पनि मुकुलले रास्वपाका नेताहरुमाथि विभिन्न आरोप लगाउन छाडेका छ्रैनन् ।
उपसभामुख इन्दिरा राणाले ५ जना सर्वसाधारणलाई अमेरिकाको भिसाका लागि अन्तर्वातामा बोलाउन पठाएको चिठीबारे पनि उनले पार्टीमा पहिला नै जानकारी भएको बताएका छन् । उनले सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले आफ्नो हितका लागि भारतीयलाई याचना गर्ने गरेको पनि आरोप लगाएका छन् ।
रविले आफूलाई प्रधानमन्त्री बनाइदिन भारतलाई गुहारेको र स्वर्णिमले नेपाललाई भुटान वा सिक्किमजस्तो बनाउन भारतलाई सघाउने गरेको आरोप मुकुल ढकालले लगाएका छन् । मुकुलका यस्ता आरोपहरुलाई गजेडीको बयान भन्दै रास्वपाका नेताहरु पन्छिने गरेका छन् ।