१८ साउन, विराटनगर ।
कञ्चनपुरमा एक जनाको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्ज र नेपाली सेनाको टोलीले शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो । बिहीबार दोधाराचाँदनकी हिराकुमारी शाहीलाई धान गोड्न गएका बेला नजिकैको उखुबारीमा लुकेर बसेको बाघले आक्रमण गरेर ज्यान लिएको थियो । अर्का एक जनालाई घाइते बनाएको थियो ।
बिहीबारदेखि नै हात्ती परिचालन गरेर बाघको खोजी थालिएको थियो । घटनाको करिब २४ घण्टापछि उक्त बाघलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डीएसपी उमेश जोशीले जानकारी दिए। महिलालाई आक्रमण गरेको नजिकैको स्थानबाट बाघलाई नियन्त्रणमा लिएको उनले बताए ।
हिजोबाटै हात्तीको प्रयोग गरेर बाघको खोजी भइरहेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज , प्रहरी र सेनाको टोलीले बाघको खोजी गरिरहेको थियो । बाघलाई नियन्त्रणमा लिन शुक्लाफाटा राष्ट्रिय निकुञ्जका चार हात्ती परिचालन गरेर नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।
बाघलाई निकुञ्जका चिकित्सकले डार्ट गन प्रहार गरेर बेहोस पारेर नियन्त्रणमा लिएको हो । बाघलाई निकुञ्जले नै के गर्ने भन्ने निणर्य गर्ने जोशीले बताए । अधिकांश नरभक्षी बाघलाई निकुञ्जले जावलाखेल राख्दै आएको छ । बिहीवार बिहान उखुबारीमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट दोधारा–चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीराको घटनास्थलमै मृत्यु भएको थियो। हीरादेवी बिहीबार बिहान घरनजिकै धान खेतमा घाँस काट्न गएकी थिइन्।
करिब १० बजेको थियो। तल्लो मल्लो खेतमा पनि महिला घाँस काट्दै थिए। नजिकैको उखुबारीबाट आएको बाघले पछाडिबाट आक्रमण गरेर उनलाई घिसार्दै लग्यो। तल्लो र माथिल्लोपट्टिको खेतमा रहेका महिलाहरू हल्ला गर्दै पछि लागेका थिए । हल्ला भएपछि जम्मा भएका स्थानीय र सुरक्षाकर्मी खोज्दै जाँदा हीरा उखुबारीभित्र मृत अवस्थामा भेटिइन्। उनको घरमा एक गाई, एक भैंसी छ।
हीराको ३ वर्षअघि मात्रै विवाह भएको हो। उनका श्रीमान् गोपाल हिमाञ्चलमा मजदुरी गर्छन्। दुई महिनाअघि बुबा हर्कबहादुरको वार्षिकी सकेर गोपाल कामको खोजीमा हिमाञ्चल गएका छन्। उनको दुई वर्षको छोरा छ। हीराको मृत्युबारे गोपाललाई खबर गरिएको छ। उनको शव दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।