विराटनगर,असोज ३
३८ किलो सुन तस्करी प्रकरणमा अभियुक्त बनाइएका एसपी विकासराज खनाललाई जिल्ला अदालत मोरङको आदेशलाई उल्टाउदै उच्च अदालत विराटनगरले तारेखमा रिहा गर्न आदेश दिएको छ ।
३८ क्विन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका प्रहरीका निलम्बित एसपी विकासराज खनाल तारेखमा रिहा भएका हुन् । उच्च अदालत विराटनगरका न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको संयुक्त इजलाशले खनाललाई सादा तारेखमा राखेर रिहा गर्ने आदेश गरेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहेको अवस्थामा सुन तस्करीमा संलग्न रहेको पाइको भन्दै जिल्ला अदालत मोरङले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेका खनाल तत्कालिन मुलुकी ऐनअन्तर्गत अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए ।
उच्च अदालत विराटनगरले तत्काल प्राप्त प्रमाणबाट खनाललाई थुनामा राखिराख्नुपर्ने कारण नदेखिएकाले तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।
खनालको पक्षमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता विकास थापाले बहस गरेका थिए । यस्तै वादीको पक्षबाट जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता पुन्यप्रसाद पाठक र उप–न्यायाधीवक्ता राजेन्द्र सिंह भण्डारीले प्रतिरक्षार्थ बहस गरेका थिए ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेशअनुसार थुनामा रहेर उच्च अदालतले रिहा गरेका निलम्बित प्रहरी अधिकारीमा खनाल तेस्रो हुन् ।
उच्च अदालत विराटनगरले यसअघि गत शुक्रवार प्रहरीका निलम्बित वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तथा आइतवार निलम्बित प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।