विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका र बेलबारी नगरपालिका गरी दुई पालिकामा सात महिनाको अवधिमा तीनवटा जंगली हात्ती मृत भेटिएका छन् ।
मंगलबार बिहान बेलबारी नगरपालिकामा हात्तीको छावा (हात्तीको बच्चा) मृत भेटिएको छ ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार बेलबारी नगरपालिका–३ स्थित टिक बगानभित्र बिहान ५:३० बजेतिर छावा मृत फेला परेको हो ।
छावाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरेपछि त्यहाँबाट आएको विज्ञको टोलीले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जनाए ।
इन्सपेक्टर दाहालका अनुसार घटनास्थल वरपर सोमबार राति १०-१२ वटाको संख्यामा हात्ती देखा परेको थियो । ‘पछिल्लो एक सातायता यस ठाउँवरपर हात्तीको हुल आउने गरेको स्थानीयले जानकारी गराएका थिए । सम्भवतः त्यही हुलमा रहेको छावा मृत फेला परेको अनुमान छ,’ उनले भने ।
यसअघि सुन्दरहरैँचा नगरपालिका–६ मा भाले जातको छावा गत जेठ ३० गते बिहान मृत फेला परेको थियो । त्यस्तै, सुन्दरहरैंचा–१० स्थित जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिब १२ वर्षको जंगली हात्ती २०८० पुस १६ गते मृत भेटिएको थियो ।