१० भदौ, विराटनगर ।
काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत सोमबार (आज) दोस्रो सेमिफाइनलको खेल हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि सुरु हुने खेलमा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।
गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो । अब, भारत र बंगलादेशबीचको विजेता टोलीले उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नुपर्ने छ ।
आइतबार भएको पहिलो सेमिफाइनल खेलको टाइब्रेकरमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । फाइनल खेल भने बुधबार साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ ।