२८ भदौ, गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाकी एक दलित महिला सदस्य पदमुक्त भएकी छन् । छत्रकोट गाउँपालिकाको वडा नम्बर ५, खज्र्याङकी दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पार्टी परित्याग गरेका कारण पदमुक्त भएकी हुन् ।
२०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् । तर, हालै नेकपा (एमाले) मा प्रवेश गरेसँगै उनलाई पदबाट मुक्त गरिएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी केन्द्रीय कार्यसमितिलाई गराएको सभापति खिलध्वज पन्थीले बताए ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
कांग्रेस केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित अन्य दलमा प्रवेश गरेको भनी आयोगमा आएको जानकारीअनुसार निर्वाचन आयोगको भदौ २५ गतेको निर्णयबाट उनलाई पदमुक्त गरिएको छ ।
राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) र (३) बमोजिम नेपालीको पद खाली भएको आयोगले जनाएको छ ।