२१ असोज , काठमाण्डौ ।
विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता लोभलाग्दो छ । यसको ज्वलन्त उदाहरणहो, भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) । भारतीय क्रिकेट बोर्डले सन् २००८ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको आइपिएल विश्वको सर्वाधिक चर्चित लिग पनि हो ।
आइपिएलमात्र नभएर अस्ट्रेलियाको बिग ब्यास, वेस्ट इन्डिजको क्यारेबियन लिग, दक्षिण अफ्रिकाको रामस्लाम टी–ट्वान्टी च्यालेन्ज, बंगलादेशको बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलंकाको प्रिमियर लिग फ्रेन्चाई क्रिकेट लिगका केही उदाहरण हुन् ।
ती लिगआबद्ध क्लबहरूले खेलाडी खरिदमा ठूलो रकम खर्चिन्छन् । यसैलाई मध्यनजर गरेर नेपाल क्रिकेट संघ (क्यान) ले पनि यसपालि सोही प्रकृतिको फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना गर्दै छ ।
एनपिएलको पहिलो संस्करण आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । उक्त प्रतियोगिता रोमाञ्चक बन्नेवाला छ । यसको पुष्टि, खेलाडीको अक्सनमा मापन गर्न सकिन्छ ।
फ्रेन्चाई क्रिकेट लिगको एउटा प्रमुख विशेषता क्रिकेटर बोलकबोल (अक्सन) बाट आआफ्नो टिममा भित्र्याउने पनि हो । सोही प्रावधानमार्फत एनपिएलमा सहभागी आठ टिमले आइतबार अक्सनबाट ८० खेलाडीहरूलाई आआफ्नो टिममा भित्र्याए ।
अब नेपालमा क्रिकेट पूर्णरूपमा व्यावसायिकीकरण हुँदै छ भन्ने एनपिएलको खेलाडी किनबेच (अक्सन) ले संकेत गरेको छ ।लुम्बिनी लायन्सले तीन क्रिकेटरलाई अधिकतम रकममा आफ्नो टिममा आबद्ध गरेको छ ।
लुम्बिनीले स्पिनर सूर्य तामाङ, अलराउन्डरद्वय विवेक यादव र सन्दीप जोराका लागि अधिकतम १५ लाख रुपियाँ खर्च ग¥यो । यसै गरी अलराउन्डर गुलसन झा, आरिफ सेख, स्पिनर ललित राजवंशी, साहब आलम, सागर ढकाल, शीर्ष क्रमका ब्याट्सम्यान अनिल शाह, भीम सार्की, लोकेश बम र बलिङ अलराउन्डर प्रितिस जिसी पनि १५ लाख रुपियाँमा बिक्री भए ।
लुम्बिनी किङ्सले सूर्य, विवेक र जोरालाई टिममा ल्याउन अधिकतम रकम खर्च गरेको हो । १० खेलाडी भित्र्याउन ९० लाख रुपैयाँको वालेट तोकिएकोमा लुम्बिनी लायन्सले ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ।
उसले ए क्याटागोरीका तीन खेलाडी १५–१५ लाख रुपैयाँमा भित्र्याउँदा ४५ लाख खर्च गरेको थियो। सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किङ्सले लोकश र प्रतिशलाई सबैभन्दा धेरै मूल्य खर्चेर आफ्नो टिममा ल्यायो ।
गुलसन अधिकतम रकममा कर्णालीमा पुगे । साहब आलम र भीम सार्कीलाई काठमाडौँले विश्वास ग¥यो । ललित र अनिलले जनकपुरबाट अधिकतम रकम पाए । पोखरा एभेन्जर्सले सागर र सुदूरपश्चिम रोयल्सले आरिफका लागि ठुलो रकम खर्च गरे ।
नेपाली राष्ट्रिय टिमका प्रारम्भिक ब्याट्सम्यान अनिललाई खरिद गर्न सबै आठ टिमले अधिकतम रकमको बोली लगाएका थिए । अन्ततः लक्की ड्रमार्फत अनिललाई टिममा ल्याउनमा जनकपुर भाग्यशाली साबित भएको हो ।
गुलसन र लोकेशका लागि पनि सात टिमले अधिकतम बोली लगाएका थिए । गोलाप्रथामार्फत लोकेश विराटनगर र गुलसन कर्णालीमा पुगे । जनकपुरले लोकेश र लुम्बिनीले गुलसनमा बोली लगाएका थिएनन् । यसै गरी भीम, विवेक, सागर, साहब र ललितलाई पनि गोलाप्रथामार्फत नै अधिकतम रकममा बिक्री भए ।
पहिलो चरणमा विनोद भण्डारी, रसिद खान, कमलसिंह ऐरी, शरद भेषवाकर, अर्जुन साउद जस्ता खेलाडी बिक्री नहुनु आश्चर्यका रूपमा रह्यो । यद्यपि यी सबै खेलाडी दोस्रो चरणमा बिक्री भए ।
अक्सनबाट प्रत्येक टिमले दश खेलाडी खरिद गरेका छन् । खेलाडी खरिदमा लुम्बिनीले सर्वाधिक ८४ लाख र चितवनले सबभन्दा कम ६३ लाख रुपैयाँ खर्च गरे । सबै टिमलाई अधिकतम ९० लाख रुपैयाँ खर्च गर्ने अधिकार दिइएको थियो ।
कुन टोलीले कति खर्च गरे ?
विराटनगर किंग्स – ६६.५ लाख खर्च – २३.५ लाख बाँकी
चितवन राइनोज – ६३ लाख खर्च – २७ लाख बाँकी
जनकपुर बोल्ट्स – ७९.२५ लाख खर्च – १०.७५ लाख बाँकी
कर्णाली याक्स – ७४ लाख खर्च – १६ लाख बाँकी
काठमाडौं गोर्खाज – ७०.५ लाख खर्च – १९.५ लाख बाँकी
लुम्बिनी लायन्स – ८४.७५ लाख खर्च – ५.२५ लाख बाँकी
पोखरा एभेन्जर्स – ८०.५ लाख खर्च – ९.५ लाख बाँकी
सुदूरपश्चिम रोयल्स – ७४ लाख खर्च – १६ लाख बाँकी
क्यानले दर्ताका भएका ४२६ बाट १४२ क्रिकेटरलाई अक्सनका लागि चयन गरेको हो । जसमध्ये ८० खेलाडी विभिन्न टिममा आबद्ध भएका हुन् र अक्सनमा ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी रहेका छन् ।
ग्रेड ‘ए’ मा रहेका क्रिकेटरलाई न्यूनतम दसदेखि अधिकतम १५ लाख रुपियाँ मूल्य तोकिएको थियो । यसै गरी ‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच र अधिकतम दश लाख तथा ‘सी’ ग्रेडका क्रिकेटरका लागि न्यूनतम दुई र अधिकतम पाँच लाख रुपियाँसम्म बोली लगाउन पाउने प्रावधान थियो ।
अब यी टिमहरूले चार विदेशी खेलाडीका साथै एक थप खेलाडी प्रतिभा खोजमार्फत आआफ्नो टिममा भित्र्याउने छन् ।