१२ कार्तिक , काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफूलाई चित्त नबुझेको विषय सामाजिक संजालमा ब्यक्त गर्न हिच्किचाउँदैनन् । सार्वजनिक संचारमाध्याममा नबोल्ने बालेन चित्त नबुझेका विषय हुन्, वा उनका विचार र निर्णयहरु सामाजिक संजालमार्फत नै सार्वजनिक गरिरहेका छन् ।
पछिल्लो समय सहकारी ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनी दोस्रो पटक थपिएको ७ दिनको न्यायिक हिरासतमा छन् । उनको पक्राउको विरोधमा रास्वपा सडक आन्दोलनमा छ ।
यही बेला रविको रिहाइ माग गरेको भन्दै सामाजिक सञ्जालमा बालेनका पोस्टहरू फैलाइएको छ । विभिन्न फेसबुक ग्रुपहरुमा शेयर भइरहेको पोस्टमा भ्रष्टाचारविरुद्ध बोलेकाले रवि पक्राउ परेको दाबी गरिएको छ ।
तर बालेनका ब्लु टिकसहितका स्क्रीन सर्ट गरिएका यी सबै अभिब्यक्तिहरु नक्कली हुन् । बास्तविकता यही हो कि बालेनले यो विषयमा अहिले सम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । पछिल्लो सहकारी प्रकरणमा मेयर बालेनको कुनै टिप्पणी नरहेको उनका स्वकीय सचिव भूपदेव शाहले बताएका छन् ।
बालेन शाह अन्य राजनीतिक घटना क्रम र नेताहरुको नाम नै किटान गरेर जसरी सामाजिक संजालमा अभिब्यक्ति दिन्छन् रास्वपा र तिनका नेताका नाम नै उल्लेख गरेर उनले अहिलेसम्म कुनै टिप्पणी भने गरेका छैनन् ।
गत वर्षको चैतमा रास्वपा सरकारमा सहभागी भएको बेला भने बालेनले नयाँ मन्त्री र रास्वपाले भन्दै आएको फाइल खोल्ने विषयप्रति अभिब्यक्ति दिएका थिए । उनले फेसबुकमा लेखेका थिए, नयाँ मन्त्रीज्युहरुले सबै पुरानो फाइल खोल्दै हुनुहुन्छ रे , टाईम कम छ , हिसाब किताब गरेर , गोजी भरेर निस्किनु पर्ने छ रे ! सरकार जती दिन टिक्छ!! स्वास्थ्य मन्त्रालयमा भएको एउटा भाई डाक्टरसाबको कुरा! मैले सुनेको कुरा गलत होस ! म आशावादी छु सरकार प्रति !
यस्तै रास्वपा लक्षित अर्काे स्टाटस बालेनले गत वर्षको मंसिरमा पोष्ट गरेका थिए, मिसन ०८४ भन्दै रास्वपाले देशव्यापी अभियान नै चलाइरहेका त्यो बेला मेयर बालेन शाहको रास्वपा लक्षित स्टाटस लेखेका थिए ।
रास्वपाले डा.स्वर्णिम वाग्लेलाई उपसभापति तथा रास्वपाका सबै सांसदहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाएकै दिन बालेनले लेखेको स्टाटस रास्वपा लक्षित भएको टिप्पणी गरिएको थियो । स्टाटसमा भनिएको थियो ः देश बन्छ, तिमीहरुको ०८४ ले बन्दैन, तिमीहरुको ०८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।
यद्यपि त्यो बेला प्रतिपक्ष दल रहेको एमालेले समेत मिसन ८४ अभियानलाई व्यापकता दिएको थियो । रवि र बालेन २०७९ मा एकै वर्ष उदाएका नेता हुन् । दुवैले नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन् । तर, सम्बन्ध र सहकार्यका हिसाबले उनीहरू परपरै हुने गरेका छन् ।
बालेन काठमाडौंको मेयर छन् भने संघीय संसदको चौथो ठूलो दल रास्वपा सभापति रविले दुईपल्ट गृह मन्त्रालयको नेतृत्व गरिसकेका छन् । राजधानी काठमाडौंको हकमा दुईबीच अनधिकृत तबरले अतिक्रमण गरिएको खोला किनार खाली गराउने विषयमा समन्वय र सहकार्यको अपेक्षा गरिएको थियो ।
यही अपेक्षासहित बालेनले रविलाई पनि भेटे तर यही विषयबाट दुईबीच सम्बन्ध थप चिसिन गयो । यसबाहेक २०७९ मंसिरमा रवि र बालेनबीच चितवनमा जे भयो, त्यसलाई पनि सम्बन्ध चिसिनुको प्रमुख कारण मान्न सकिने जानकारहरू बताउँछन् ।
रवि पहिलोपल्ट संसदीय चुनाव लड्दै थिए । स्थानीय चुनावमा लोकप्रिय मतका साथ बालेन काठमाडौंको मेयरमा निर्वाचित भइसकेका थिए । रविको पक्षमा चुनावी माहौल बनाउन रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकाल र केन्द्रीय सदस्य गणेश कार्कीले रविसँग सल्लाह गरी बालेनलाई चितवनमा घुम्न बोलाएका थिए ।
बालेनको टिमसँग कार्कीले समन्वय गरेका थिए । रविलाई यो कुरा थाहा भए पनि बालेनलाई थाहा थिएन । बालेनलाई चितवनमा रविसँग ‘सरप्राइज मिटिङ’ गराउने योजना थियो । उनी श्रीमती सविनासहित चितवन पुगेका थिए ।
तर रविले बालेनलाई नभेटेको उनी निकट नेताहरुले नै बताएका थिए । बालेन र रवि सार्वजनिक पदमा रहेपनि उनीहरु एकसाथ मञ्चमा देखिएका छैनन् । रास्वपाको वार्षिक उत्सवमा बालेन देखिएका छैनन् भने महानगरका कार्यक्रममा पनि रवि पुगेका छैनन् ।
उनीहरूको पछिल्लो भेट भने गतवर्षको चैतमा गृह मन्त्रालयमा भएको थियो, जतिबेला रविपत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत सहकारीमा काठमाडौं महानगरपालिकाको प्रहरीले छापा हानेको थियो ।
खासगरी खोला किनारको अतिक्रमित जग्गा खाली गराउने प्रयासमा काठमाडौं महानगरका प्रहरीमाथि आक्रमण हुँदासमेत तत्कालीन गृहमन्त्री लामिछानेले सहयोग नगरेको विषयमा बालेन असन्तुष्ट छन् ।
त्यसयता बालेनले बेलाबखत सामाजिक सञ्जालमार्फत रवि र रास्वपालाई घोचपेच गर्ने गरेका छन् । ‘नयाँ दलका नेताको हैसियत पनि देखियो’ भन्नेदेखि ‘नयाँ पुराना सबै चोर’ भन्नेसम्मका स्टाटस बालेनले लेखेका थिए ।
सकेसम्म रास्वपा बालेनलाई पार्टीमा भित्र्याउने योजनामा देखिन्छ । तर यसका लागि बालेन तयार छैनन् । बरु स्वतन्त्र रुपमै धरानमा चुनाव जितेका हर्क साम्पाङसँग बालेनले पटक पटक भेट गरिसकेका छन् । उनीहरु बीच पार्टी समेग खोल्ने विषयमा समेत छलफल भएको अनुमान गरिन्छ ।
यसको संकेत हर्कले नै दिएका थिए । बालेनसहितको पार्टी गठन समेत हुन् सक्ने उनले अभिब्यक्ति दिएका थिए । बालेन प्रमुख सत्तारुढ दल नेकपा एमाले र प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन् ।
उनले यसका बारेमा सामाजिक संजालमा नै पटक पटक स्टाटस लेखिसकेका छन् । यो हिसाबले रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेका बेला बालेनको साथ रास्वपाले पाउनु पर्ने रास्वपाजनको अपेक्षा देखिन्छ ।
तर अनुसन्धान वा अदालतको विषय बन्नु भन्दा पहिला देखिनै रवि र सहकारीका प्रकरणमा बालेन मौन देखिएका छन् ।