५ लाख दिएर प्रसाईँले बिश्नोइको नाममा धम्काउन लगाएका थिए..

५ लाख दिएर प्रसाईँले बिश्नोइको नाममा धम्काउन लगाएका थिए..

२४ मंसिर, काठमाण्डौ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आपराधिक लाभ सम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । सीआईबीले सोमबार उनलाई आफ्नो लाजिम्पाटस्थित कार्यालयमा लगेको छ ।

यसअघि ४ मंसिरमा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी साइबर ब्यूरोलाई बुझाइएको थियो । साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गरेपछि उनलाई थप अनुसन्धानका लागि सीआईबीमा लगिएको हो ।

साइबर ब्यूरोले प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘फेक डकुमेन्ट’ बनाएर दुष्प्रचार गरेको आरोपमा अनुसन्धान गरिरहँदा आपराधिक लाभको विषय बाहिरिएको हो । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीहरूलाई धम्की दिन लगाएको आरोप प्रसाईंमाथि छ।

यस प्रकरणमा सीआईबीले झापाका हरिचन्द्र फुयाललाई पनि पक्राउ गरेको थियो । व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्दै आएका पाँचथरको मौवाका स्थायी बासिन्दा ३६ वर्षीय नवीन प्रधान भनिने हरिचन्द्र फुयाललाई मंसिर १३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले झापाको चारआलीबाट पक्राउ गरेको थियो ।

फुयालले प्रसाईंको निर्देशनमा आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिइ आपराधिक लाभ लिन खोजेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो । फुयालले मेडिकल व्यवसायी प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीहरुलाई आतंकित पार्दै आपराधिक लाभ लिन खोजेको ब्यूरोले जनाएको छ।

अनुसन्धानका क्रममा फुयालले धम्की दिन प्रसाईंबाट पाँच लाख रुपैयाँ पाएको स्वीकार गरेको सीआईबी स्रोतको भनाइ छ । उक्त रकम फुयालले अर्को व्यक्तिमार्फत बुझेको दाबी सीआईबीको छ ।

अनुसन्धानका क्रममा प्रसाईं र फुयालबीच १०० भन्दा बढी पटक फोन सम्पर्क भएको पाइएको छ । यस प्रकरणमा धम्की दिन संलग्न ६ व्यक्ति अझै फरार रहेको र केहीको पहिचान भइसकेको सीआईबीले जनाएको छ ।

सीआईबीले यो घटनालाई संगठित अपराधको रूपमा हेर्ने तयारी गरेको छ । पक्राउ परेका फुयाल यसअघि चेक बाउन्सका मुद्दामा समेत संलग्न रहेको पाइएको छ । उनी मोरङ र सुनसरीमा विभिन्न कानुनी मुद्दामा मुछिएका थिए । सीआईबीले प्रसाई र फुयालविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.