भोटेकोशीको बाढीले अहिलेसम्म कति क्षति गर्याे ?

भोटेकोशीको बाढीले अहिलेसम्म कति क्षति गर्याे ?
२४  असार , काठमाडौं ।
छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतबाट मंगलबार बिहानै भोटेकोशी नदीमा उर्लिएको अकल्पनीय बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको छ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवागढी हाइड्रोपावर र भन्सार यार्डसहितका महत्त्वपूर्ण संरचनाहरू ध्वस्त पारेको छ भने उद्धारमा खटिएका प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन्।
बाढीको असर तल्लो तटीय क्षेत्र धादिङ र चितवनसम्म पुगेको छ, जहाँ त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, तिब्बतको ल्हेन्दे खोलाबाट सुरु भएको बाढी मंगलबार बिहान ३ः३० बजे रसुवाको स्याफ्रुबेँसी जलमापन केन्द्रमा आइपुगेको थियो।
बाढीको विनाशकारी वेगले बिहान ४ बजे नै गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन जोड्ने मितेरी पुललाई बगाएपछि रसुवागढी नाका पूर्ण रूपमा सम्पर्कविच्छेद भएको छ।
त्यसको केही बेरमै, बिहान ४ः४० बजे बाढीले ईभी चार्जिङ स्टेसनमा क्षति पु¥याउँदै त्यहाँ रहेका सात–आठवटा विद्युतीय गाडी बगाएको प्रहरीले जनाएको छ।
बाढीले रसुवा भन्सार कार्यालयको यार्ड र निर्माणाधीन रसुवागढी हाइड्रोपावरको ड्याममा पनि गम्भीर क्षति पु¥याएको छ।
बाढीका कारण गोसाइँकुण्ड–५ स्थित पासाङल्हामु सडकखण्ड चर्किएर धुन्चे–टिमुरे सडक अवरुद्ध भएको छ, जसले गर्दा उद्धार र राहत कार्यमा थप चुनौती थपिएको  स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
बाढीमा परी हालसम्म १८ जना सम्पर्कविहीन छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार, बेपत्ता हुनेहरूमा इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका ३ जना प्रहरी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिक रहेका छन्।
सुरक्षाकर्मी र स्थानीयको प्रयासमा १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी र ७ स्थानीय गरी जम्मा ९ जनाको सकुशल उद्धार गरिएको छ। बाढीको प्रभावले धादिङको त्रिशूली नदीमा २ जना पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालका अनुसार गल्छी र गजुरी गाउँपालिकास्थित त्रिशूली नदी किनारमा फेला परेका शवहरूको पहिचान हुन सकेको छैन।
शवको अवस्था हेर्दा हालैको घटनामा मृत्यु भएको अनुमान गरिएको छ। यसैबीच, बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीमा अन्त्येष्टि गरिँदै गरेको एक चितालाई समेत त्रिशूलीको बढेको बहावले बगाएको हृदयविदारक घटना भएको छ।
स्याफ्रुबेसीका स्थानीय बुद्ध लामाले रातिको अनुभव सुनाउँदै भने, “राति साढे तीन बजेतिर घरै थर्किएपछि भूकम्प आयो भन्ने लाग्यो। तर बाहिर निस्केर हेर्दा भोटेकोसीले रौद्र रूप लिएको थियो। गाउँमा हल्लाखल्ल भयो, सबै आत्तियौं।“
उनका अनुसार बाढीले खोलाको धार परिवर्तन गरेको छ र बगाएर ल्याएका ढुंगाहरूले घरहरू थर्किरहेका छन्। धेरै स्थानीयहरू महत्त्वपूर्ण सामान बोकेर सुरक्षित स्थानतर्फ लागेका छन्।
“यहाँ सरकारी संयन्त्र कमजोर छ।  उनले भनेका छन्, ठूलै क्षति भएको भए हाम्रो बिजोग हुने थियो,“   विपद् प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले नेपालमा भारी वर्षा नभएकाले बाढीको कारण चीनतर्फको भारी वर्षा वा हिमताल÷बाँध फुटेको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्।
विभागका अनुसार रसुवामा सामान्य वर्षा मात्रै मापन भएको थियो, जसले यति ठूलो बाढी निम्त्याउन सक्दैन। बाढी हाल घट्दो क्रममा रहे पनि खतरा टरिनसकेको विभागले जनाएको छ।
विभागले एक सूचना जारी गर्दै रसुवागढीदेखि धादिङको बेनिघाटसम्म त्रिशूली नदीतटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गोसाईंकुण्ड गाउँपालिकाले पनि स्थानीयलाई सुरक्षित रहन अपिल गरेको छ। बाढीको प्रभावले नारायणी नदीमा समेत जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले तटीय क्षेत्रमा माइकिङ गरेर सतर्क गराएको छ।
हाल सुरक्षा निकायहरू उद्धार, खोजी र राहत कार्यमा खटिएका छन्, तर अवरुद्ध सडक र प्रतिकूल मौसमले अप्ठ्यारो सिर्जना गरेको छ।
यता धुलिखेलमा बसेको वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी – २०८२  रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीपछि छोट्याउने निर्णय गरिएको छ ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.