२६ असार , काठमाण्डौं ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प लाइबेरियाका राष्ट्रपतिको अंग्रेजी सुनेर चकित परेका छन् । अफ्रिकी मुलुकहरूसँगको बैठकमा लाइबेरियाका राष्ट्रपतिले अंग्रेजी बोल्दा आफूलाई आश्चर्य लागेको ट्रम्पले बताएका छन् ।
ट्रम्पसहितको बैठकमा लाइबेरियाका राष्ट्रपति जोसेफ बोआकाईले भने, ‘लाइबेरिया अमेरिकाको पुरानो मित्र हो र हामी अमेरिकालाई फेरि महान् बनाउने तपाईंको नीतिमा विश्वास गर्छौं,’।‘यो अवसर दिनुभएकोमा हामी तपाईंलाई धन्यवाद दिन्छौं ।’
ट्रम्पलाई लाइबेरियामा अमेरिकी लगानीका लागि फकाउने क्रममा उनले अंग्रेजी भाषामा यो कुरा भनेका थिए । उनको कुरा सुनेर ट्रम्प प्रभावित भए । त्यसपछि कहाँ भाषा सिक्नुभयो भनी सोधे ।
‘कति राम्रो अंग्रेजी, क्या सुन्दर,’ ट्रम्पले भने, ‘यति राम्रोसँग बोल्न कहाँबाट सिक्नुभयो ? तपाईंले कहाँ पढेको हो ?’ यो सुनेर बोआकाई मुस्कुराए र भने, ‘हो, सर,’ यहीँ पढेको ।
‘रमाइलो कुरा, कस्तो सुन्दर अंग्रेजी,’ ट्रम्पले भने, ‘मसँग यहाँ टेबलमा भएका मानिस यति राम्रोसँग बोल्न सक्दैनन् ।’अन्य अफ्रिकी नेताहरूले दोभाषेमार्फत ट्रम्पसँग कुराकानी गरेका थिए ।
खासमा लाइबेरियाको आधिकारिक भाषा अंग्रेजी हो । अमेरिकामा दासप्रथाबाट मुक्ति पाएका काला अमेरिकीहरूलाई राख्नका लागि लाइबेरिया देश सन् १८२२ मा बनेको थियो ।
अमेरिकामा दासप्रथा अन्त्य भएपछि काला मानिसको भविष्यले समस्या ल्याउन सक्ने भन्दै गोरा अमेरिकीहरूले यो देश बनाउन पहल गरेका थिए । लाइबेरियाको आधिकारिक भाषा अंग्रेजी भए पनि त्यहाँ अनेकौं स्थानीय भाषाहरू बोलिन्छन् ।
ट्रम्पले बुधवार ह्वाइट हाउसमा लाइबेरियाका साथै गाबोन, गिनी–बिस्साउ, मौरिटेनिया र सेनेगलका नेताहरूसँग बैठक गरेका थिए । ती नेताहरूलाई उनले अमेरिका अब अफ्रिकालाई सहायता दिने भन्दा पनि उससँग व्यापार गर्न इच्छुक रहेको र चीनभन्दा अमेरिका बढी राम्रो साझेदार रहेको बताएका थिए ।
आफ्नो प्रशासन अफ्रिकामा मैत्री सम्बन्ध बलियो बनाउन प्रतिबद्ध रहेको बताउँदै ट्रम्पले भविष्यमा अफ्रिका भ्रमण गर्न चाहेको इच्छा व्यक्त गरे ।
अफ्रिकी नेताहरूले ट्रम्पलाई संसारभरि शान्ति सम्झौता गरेको भन्दै प्रशंसा गरे र उनले नोबेल पुरस्कार पाउनुपर्ने बताएका थिए । यसबीच ट्रम्पले अगस्ट १ देखि ब्राजिलमा भने ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
यस सम्बन्धमा उनले ट्रुथ सोसलमा पत्र पनि सेयर गरेका छन् । उक्त पत्रमा ट्रम्पले ब्राजिलले अमेरिकी टेक कम्पनीहरुमाथि ‘आक्रमण’ गरेको आरोप लगाएका छन् ।
ट्रम्पले ब्राजिल सरकारले पूर्व राष्ट्रपति जायर बोल्सोनारोको ‘जासुसी’ गरेको आरोप पनि लगाएका छन् । उल्लेखनीय छ कि बोल्सोनारोलाई २०२२ मा ब्राजिलमा भएको आम चुनावको नतिजा उल्ट्याएको आरोप लगाइएको छ।
हाल उनीविरुद्ध यस विषयमा मुद्दा चलिरहेको छ । ट्रम्पको घोषणा पछि, ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले आफूले पनि अमेरिकाको ट्यारिफको बिरूद्ध कर लगाउने बताएका छन् ।
उनले न्याय प्रणालीमा कुनै पनि प्रकारको हस्तक्षेप आफ्नो देशले स्वीकार नगर्ने बताए । लुलाले बोल्सोनारो विरुद्ध चलिरहेको मुद्दामा पहिले पनि टिप्पणी गरिसकेका छन् ।
उनले ब्राजिलले कसैको ‘हस्तक्षेप’ स्वीकार नगर्ने र ‘कानूनभन्दा माथि कोही नहुने’ बताएका थिए ।