२९ भदौ , काठमाण्डौ ।
गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा पानी परिरहेको हो ।
बरिष्ठ मौसमविद शान्ति कँडेलले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले पानी परेको बताइन् । उनको अनुसार यसको प्रभाव अबको दुई–तीन दिनसम्मै देखिने पूर्वानुमान पनि छ ।
‘बादल बढ्ने क्रममा छ । रातिदेखिको कुरा गर्दा वर्षाको गतिविधि बढेको छ,’ बरिष्ठ मौसमविद कँडेलले भनिन्, ‘कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको देखिएको छ । कोशी प्रदेशपछि मधेशमा र लुम्बिनीमा पनि वर्षा भएको छ ।’
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको झापाको केचनामा गत २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा मापन भएको छ । दमकमा ९२.८ र दिङ्गलामा ९४.६ मिलिमिटर वर्षा मापन भएको छ ।
उदयपुरको गाइघाटमा एक घण्टामा ५४.६ मिलिमिटर वर्षा भएको छ । एक घण्टामै ५० मिलिमिटरभन्दा बढी पानी पर्नु भारी वर्षा हो । मधेश प्रदेशका सिराहाको गोलबजार, रुपनीबजार लगायतका स्थानमा पनि पानी परेको छ ।
बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा, रङ्सिङ लगायतका स्थानमा पनि वर्षा भएको छ । बरिष्ठ मौसमविद कँडेलका अनुसार आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ (नेपालतर्फ) सर्ने सम्भावना छ ।
यदि नेपाल नजकि आएमा पानी पर्ने क्रम झन् बढ्ने सम्भावना रहने मौसमविदहरु बताउँछन् । ‘विहान झापा र बाँकेमा तीन घण्टाभन्दा बढी भारी वर्षा भएको छ र पूर्वी तराईमा अझै ठूलो वर्षा हुनसक्ने सम्भावना पनि छ’ वरिष्ठ मौसमविद कँडेलले भनिन् ।
देशभर एकनासले झरी नपरेर कुनै–कुनै क्षेत्रमा मात्र ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । यसबीच देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
झापा, मोरङ, सुनसरी र सप्तरीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर, बाँके, बर्दिया र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।