३१ भदौ , काठमाण्डौ ।
भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको छ । सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको हो ।
हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने लक्ष्मी नवराजकी पत्नी हुन् । नवराज र हिमबहादुर गाडीको ढाला पछाडि बसेकाले फाल हानेर जोगाएका छन् ।
ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन् । घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ ।
यो दुर्घटनामा गाडी चालक भारतीय नागरिकको पनि मृत्यु भएको छ । मृतक सबैको पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ । मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पु¥याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो ।
गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो । घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ ।
भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन् ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ । यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् । त्यस्तै, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।