जेनजी प्रदर्शनका अर्का घाइतेको निधन, मृतकको संख्या ७६ पुग्यो

१२ असोज ८२, सोमबार

१३ असोज ,काठमाण्डौ ।

Advertisement

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा घाइते भएका अर्का एक युवाको मृत्यु भएको छ । गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको हो ।

पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।

Advertisement

उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए । दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन ।

उनको टाउको पछाडिको भागमा गोली लागेको थियो । उनी उपचारकै क्रममा कोमामा थिए । यससँगै जेनजी प्रदर्शनका क्रममा भएको मृतकको संख्या ७६ पुगेको छ ।

Advertisement

अझै पनि विभिन्न अस्पतालहरूमा घाईतेको उपचार जारी छ । जेनजी आन्दोलनका घाइतेहरुको पुनः उपचारका लागि सरकारले निश्चित अस्पताल तोक्दै जेनजी क्लिनिक संचालन गर्ने निर्णय गरिसकेको छ ।

यसैबीच भदौ २३ र २४ भएको जनधन क्षतिबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका ५ उच्च अधिकारीलाई अनुसन्धानको दायरामा राख्दै बयान लिने तयारी गरेको छ ।

जाँचबुझ आयोगले आइतबारमात्रै ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्कासहित उपत्यका छाड्नुपर्दा आयोगको अनुमति लिएर मात्र छाड्नुपर्ने निर्णय गरेको थियो ।

‘भाद्र २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नुहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने’,आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार पूर्वप्रधानमन्त्री ओलीसहितका पदाधिकारी अनुसन्धानको दायरामा रहेकाले अब उनीहरुसँग प्रक्रिया मिलाएर बयान लिने काम अघि बढ्ने छ ।

उनका अनुसार आजबाट दशैँ बिदा परेकाले उनीहरूसँगको बयान लिने काम पनि दशैँ पछि मात्र हुनेछ । यता नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको घटनाको विरोध गरेको छ ।

गुण्डुमा आइतवार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले विरोध गरेको हो । एमालेले यसलाई राजनीतिक प्रतिशोधयुक्त कदम भन्दै आपत्ति जनाएको छ ।

यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको बैठकपछि सञ्चारकर्मीहरूसँग पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

गृह मन्त्रालयले भदौ २४ को विध्वंसकारी घटनामा संलग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कारबाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको गम्भीर ध्यानाकर्षा भएको उनले बताए।

यस निर्देशनले अपराधीको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको आरोप लगाए। पार्टीले यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै नेपाल प्रहरीलाई निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ।

ज्ञवालीले भने, ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसअघि नै गृह मन्त्रालयमार्फत दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

एमालेले पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक असोज २७–२९ मा काठमाडौँमा बस्ने उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top