११ कार्तिक , काठमाण्डौ ।
बंगालको खाडीमा बनेको मोनथा चक्रवात भारतको आन्ध्र प्रदेशतर्फ बढिरहेको छ । यो चक्रवात मंगलबार मध्यराततिर आन्ध्र प्रदेशको काकिनाडा नजिकैबाट जमिनमा आइपुग्ने र त्यसपछि माछिलिपटनम र कलिंगपट्टनमबीचको तट पार गरेर उडिसाको दक्षिणी भागतर्फ बढ्ने अनुमान गरिएको छ ।
यस मौसमको यो पहिलो ठूलो चक्रवात हो । यो हाल बंगालको खाडीमा केन्द्रित छ र उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । स्थलगत हुनुअघि यो गम्भीर चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । यसको हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटर छ र झड्का ११० किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ ।
आन्ध्र प्रदेश सरकारले काकिनाडा, कोनसीमा, पश्चिम गोदावरी, एलुरु र पूर्व गोदावरी जिल्लालाई उच्च सतर्कतामा राखेको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले कुनै पनि जनधनको क्षति हुन नदिन निर्देशन दिएका छन् ।
यस आँधीले आन्ध्र प्रदेशमा सबैभन्दा ठूलो असर पर्नेछ । त्यहाँका २३ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । तर, दक्षिण उडिसाका तटीय जिल्लाहरूमा पनि भारी वर्षा र तीव्र हावा चल्ने अनुमान गरिएको छ ।
तमिलनाडुको उत्तर भाग, विशेषगरी चेन्नई, मा पनि भारी वर्षा पर्न सक्छ । यसैबीच, उडिसा सरकारले सोमबार जोखिमपूर्ण क्षेत्रका करिब ३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेको छ ।
आँधीका कारण भुवनेश्वर र दक्षिणी जिल्लाहरूमा वर्षा भइरहेको छ । प्रशासनले गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाहरूमा पहिरोको सम्भावना भन्दै कडा निगरानी गरिरहेको छ ।
नेपालमा पनि यो आँधीको असर पर्ने सम्भावना छ । यो प्रणालीले नेपालको पूर्वी क्षेत्रमा बढी प्रभाव पार्नेछ । यो प्रणालीले बुधवार वा बिहीवारदेखि शनिवारसम्म बढी प्रभाव देखाउने सम्भावना रहेको मौसमविद्हरू बताउँछन् ।
हाल नेपालमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले पनि बुधवारसम्म देशका विभिन्न भागमा हलुका वा मध्यम वर्षाका साथै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा भारी हिमपात भइरहेको छ । उता क्यारिबियन टापु जमैका यस वर्षको संसारकै सबभन्दा शक्तिशाली आँधी र सम्भवतः टापुको इतिहासकै सबभन्दा बलियो आँधीको चपेटामा परेको छ ।
अमेरिकी मौसमविद्हरूले यहाँ ‘विनाशकारी र जीवन खतरामा पार्ने’ अवस्थाको चेतावनी दिएका छन् । आँधीका कारण जमैकामा पहिले नै तीन जनाको ज्यान गइसकेको छ ।
यसबाहेक हाइटी र डोमिनिकन रिपब्लिकमा पनि चार जनाको मृत्यु भएको बताइएको छ । १७५ माइल प्रतिघण्टा सम्मको वेग भएको चक्रवात मेलिसा अधिकतम शक्ति पाँचौँ श्रेणीको आँधी हो ।
यो आँधी अझ तीव्र भइरहेको र मंगलबार बिहानै क्यारिबियन टापुमा जमिनमा ठोक्किने बताइएको छ । अमेरिकी राष्ट्रिय चक्रवात केन्द्र (एनएचसी)को पछिल्लो तथ्यांकअनुसार अधिकतम हावाको गति र कम केन्द्रीय दबाबका हिसाबले मेलिसा यस वर्षको संसारकै सबभन्दा बलियो आँधी हो ।
सीबीएसले जनाएअनुसार, यसको हालको शक्तिले सन् १८५१ मा अभिलेख राख्न थालेयता जमैकालाई प्रभावित पार्ने सबभन्दा शक्तिशाली आँधी बन्नेछ ।
विशेषज्ञहरूले मेलिसाको सुस्त गतिका कारण केही क्षेत्रहरूमा लामो समयसम्म अत्यधिक वर्षा हुन सक्ने र यसले भयंकर बाढी तथा पहिरोको जोखिम बढाउने चेतावनी दिएका छन् ।










