१९ कार्तिक , काठमाण्डौ ।
सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा ३ दिनदेखिको खोजीपछि हिजो गोरखाबाट पक्राउ परेका डा.निकोलस भुसाल पाँच दिन हिरासतमा रहने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ मा पाँच दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले बताए । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुनेछ ।
सार्वजनिक रूपमा अण्ठसन्ठ बोल्दै आएका भुसाललाई प्रहरीले खोजिरहेको थियो । ४ दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर, उनी भने आएनन् । आफूलाई प्रहरीले खोजेपछि उनले आफू काठमाडौंमै रहेको भन्दै भिडियो सन्देश समेत जारी गरेका थिए ।
तर उनी गोरखाबाट पक्राउ परेका हुन् । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ परे । उनलाई त्यसपछि हिजो नै प्रहरीले काठमाडौं ल्याएको थियो । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका छन् । भुसालले शनिवार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिए ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते एकैदिन सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ । उनीहरुलाई सरकारले कारबाही नगरे आफूहरु नै कारबाहीका लागि अगाडि सर्ने समेत बताए ।
‘कारबाही’का लागि आफूहरु ओली र लेखकको घर जाने उनले बताएका छन् । सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै भुसाल हालका प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध पनि खनिए । उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर टिप्पणी गरेका छन् ।
साथै उनले आफूमाथि कारबाही गर्न सरकारलाई चुनौतिसमेत दिएका छन् । अपशब्द प्रयोग गर्दै उनले गृहमन्त्री अर्याललाई अपशब्दसहित भनेका छन्, ‘हे गृहमन्त्री तैले कारबाही गर्न सक्छस् भने गर् मेरै गाउँको होस् तँ पनि । खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो त्यही पनि तँ भन्न बाध्य छु ।’ उनी यतिमै रोकिँदैनन् ।
उनले आफूले बालुवाटार माथि मिसाइल राखेको समेत बताएका छन् । त्यसबाट कोही नबच्ने भन्दै धम्की दिएका छन् । वर्तमान सरकारले दलहरूलाई बोलाएर छलफल राखेकोमा पनि उनले विरोध गरेका छन् । आगामी फागुनमा चुनाव गर्ने हो भने प्रत्यक्ष कार्यकारी प्रमुखसहितको चुनाव गर्नुपर्ने होइन भने चुनाव हुन नसक्ने पनि उनले बताएका छन् ।
बालेन शाहले समेत जेनजीका माग पुरा नगरेको भनेर उनले आक्रोश पोखेका थिए । निकोलस विवादित पात्र हुन् । उनले यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको मेडिकल रिपोर्ट आएको थियो ।
त्यसपछि उनका दाजु सागरले सुधार केन्द्र लैजाने भन्दै जिम्मा लिएपछि प्रहरीले छाडेको थियो । गत असोज २३ गते पनि प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको थियो । पिसाब परीक्षणमा गाँजाको मात्रा भेटिएपछि सुधार केन्द्र लैजाने शर्तमा परिवारको जिम्मा लगाइएका उनले उग्र खालको अभिव्यक्ति दिँदै आएका छन् ।










