२५ जेठ , काठमाण्डौ।
इरानले आइतबार राति इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । इरानका अनुसार यो आक्रमण बेरुतमा भएको इजरायली आक्रमणको बदला लिने उद्देश्यले गरिएको थियो जसमा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। इजरायलका अनुसार अप्रिल ८ मा युद्धविराम भएयता इरानले इजरायलमाथि पहिलोपटक क्षेप्यास्त्र आक्रमण गरेको हो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले अमेरिका र इजरायललाई चेतावनी दिएको छ । आईआरजीसीले थप कुनै पनि आक्रमण भएमा अमेरिकी र इजरायली लक्ष्यहरूलाई लक्षित गरिने बताएको हो ।
इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएका पछिल्ला प्रहारहरू केवल ‘चेतावनी’ मात्र भएको जनाएको छ । इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा मूल्यांकनका आधारमा अर्को सूचना जारी नभएसम्म देशको पश्चिमी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको जानकारी दिएका छन् ।
सुरक्षालाई ध्यानमा राख्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् । आईआरजीसीले जारी गरेको विज्ञप्तिमा इजरायलविरुद्ध गरिएका हालका आक्रमणहरू सम्भावित थप सैन्य कारबाहीका लागि प्रारम्भिक चेतावनी भएको जनाएको छ । उसले इजरायलले आफ्ना आक्रमण जारी राखेमा क्षेत्रभर रहेका अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक ठेगानाहरूलाई निशाना बनाइने चेतावनी दिएको छ ।
इरानको खातम अल–अम्बिया सेन्ट्रल कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले इजरायलले दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा आक्रमण रोक्नुपर्ने बताएका छन् । उनले भने, “यदि, इजरायलले आफ्नो सैन्य कारबाही विस्तार ग¥यो वा इरानको कदमको जवाफ फर्कायो भने उसले अझ विनाशकारी र पछुताउनुपर्ने खालका आक्रमणहरूको सामना गर्नुपर्नेछ ।”
यसैबीच, इजरायली सेनाले इरानबाट प्रहार गरिएका दुई चरणका क्षेप्यास्त्र आक्रमणहरू सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ । सामाजिक सञ्जाल ‘एक्स’मा जारी विज्ञप्तिमा इजरायली सेनाले भनेको छ, “इरानबाट हालसम्म प्रहार गरिएका सबै क्षेप्यास्त्रहरूलाई बीचमै रोकिएको छ ।”
सेनाले थप क्षेप्यास्त्र प्रहारको सम्भावना रहेको उल्लेख गर्दै हवाई रक्षा प्रणालीहरू निरन्तर सक्रिय अवस्थामा रहेको जनाएको छ । इजरायली सेनाले ती खतराहरूलाई निष्क्रिय बनाउन रक्षा प्रणालीहरू सञ्चालनमा रहेको बताएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार राति करिब १० बजे इजरायलको उत्तरी क्षेत्रमा करिब १० वटा क्षेप्यास्त्र प्रहार गरिएको थियो।
इरानले बेरुतको दक्षिणी उपनगर दाहिएमा इजरायलले गरेको आक्रमणको जवाफस्वरूप ती क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ। इजरायलले बेरुतमा गरेको उक्त आक्रमणमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहको मुख्यालयलाई निशाना बनाएको थियो। इरानको आक्रमणको बदला लिने कसम इजरायलले खाएको छ।
इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमीरले इजरायल तेहरानमाथि जवाफी आक्रमण गर्न तयार रहेको तर त्यसका लागि राजनीतिक नेतृत्वबाट अनुमति पर्खिरहेको बताएका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच थप सैन्य तनाव नबढाउन आग्रह गरेका छन् ।
अनलाइन समाचार माध्यम एक्सियोससँगको संक्षिप्त अन्तर्वार्तामा उनले इजरायललाई थप जवाफी कारबाही नगर्न सुझाव दिने बताएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको उपनाम प्रयोग गर्दै ट्रम्पले भने, “म अहिले नै बीबीलाई फोन गरेर जवाफी कारबाही नगर्न भन्नेछु ।”
उनले पछिल्ला आक्रमणहरूबारे टिप्पणी गर्दै भने, “दुवै पक्षले आफूले गर्न चाहेको गरिसके । इजरायलले आक्रमण ग¥यो, इरानले पनि जवाफ दियो । अब थप आक्रमणको आवश्यकता छैन ।” उनले भने, “आशा छ इजरायलले फेरि आक्रमण गर्ने छैन । यदि, बीबीले पुनः हमला गरेमा यो प्रतिशोधको शृंखला विगत ४७ वर्षदेखि जस्तै निरन्तर चलिरहनेछ ।”
अप्रिल ८ मा युद्धविराम हुनुअघि इरान र इजरायलबीचको द्वन्द्व मध्यपूर्वकै सबैभन्दा खतरनाक सैन्य टकरावमध्ये एक बनेको थियो। गाजामा युद्ध सुरु भएपछि इरान समर्थित समूहहरू र इजरायलबीच तनाव बढ्दै गयो, जसले अन्ततः प्रत्यक्ष इरान–इजरायल आक्रमणको रूप लियो। इरानले इजरायलमाथि सयौं ब्यालिस्टिक क्षेप्यास्त्र, क्रुज मिसाइल र ड्रोन प्रहार गरेको थियो। इरानी पक्षले आफ्ना सैन्य अधिकारी र वैज्ञानिकमाथि भएका आक्रमणको प्रतिशोधस्वरूप हमला गरेको जनाएको थियो।
इजरायलका विभिन्न सैन्य अड्डा, सुरक्षा संरचना तथा रणनीतिक क्षेत्रहरूलाई लक्ष्य बनाइएको थियो। यद्यपि इजरायलको बहुस्तरीय हवाई प्रतिरक्षा प्रणाली र अमेरिकी सहयोगका कारण अधिकांश प्रहार आकाशमै निष्क्रिय पारिएका थिए।
जवाफमा इजरायलले इरानभित्रका सैन्य प्रतिष्ठान, क्षेप्यास्त्र उत्पादन केन्द्र, हवाई सुरक्षा प्रणाली तथा इरान समर्थित समूहका संरचनामाथि आक्रमण गरेको थियो।
साथै लेबनानस्थित हिजबुल्लाहका अड्डा र सिरियामा रहेका इरान समर्थित लक्ष्यहरूमा पनि कारबाही गरिएको थियो। क्षतिको हिसाबले इरानमा सैन्य पूर्वाधार, क्षेप्यास्त्र भण्डारण स्थल तथा केही औद्योगिक संरचनामा उल्लेखनीय क्षति पुगेको बताइन्छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दर्जनौं सैन्यकर्मी र सर्वसाधारणको मृत्यु भएको थियो। इजरायलमा पनि क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण केही मानिसको ज्यान गएको, सयौं घाइते भएको तथा भवन र पूर्वाधारमा क्षति पुगेको थियो।
युद्धविरामअघि दुवै देशले आफूलाई सफल दाबी गरे पनि आर्थिक, सुरक्षा र मानवीय दृष्टिले दुवै पक्षले ठूलो मूल्य चुकाउनुपरेको विश्लेषण गरिएको छ। यही कारण अन्तर्राष्ट्रिय समुदायले युद्ध थप फैलिन नदिन कूटनीतिक दबाब बढाएको थियो, जसपछि अप्रिल ८ मा युद्धविरामको घोषणा भएको मानिन्छ।