इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

३० जेठ, काठमाण्डौ ।

अमेरिका र इरानबिच तयार भइरहेको भनिएको समझदारीपत्र अन्तिम चरणमा पुगेको दाबी इरानी सरकारी समाचार संस्था आईआरएनएले गरेको छ । इरानको १४ बुँदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाबारे आईआरएनए, मेहर समाचार एजेन्सी तथा अन्य इरानी सञ्चारमाध्यमहरूले केही प्रमुख विवरण सार्वजनिक गरेका छन् ।

मस्यौदाअनुसार इरानसँगको युद्ध मात्र होइन, लेबनान लगायतका मोर्चाहरूमा पनि युद्ध अन्त्य गर्ने व्यवस्था समावेश छ । सम्झौता भएमा अमेरिकाले इजरायललाई बेरुत क्षेत्रमा सैन्य कारबाही रोक्न दबाब दिने प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ ।

Advertisement

यस्तै आणविक कार्यक्रमका विषयमा इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने बताइएको छ । सम्झौतापछि सुरु हुने ६० दिने वार्ता अवधिमा मात्र इरानले आफ्नो “मूलभूत सिद्धान्त” को सीमाभित्र रहेर आणविक वार्तामा सहभागी हुने जनाइएको छ ।

यसमा युरेनियम संवर्धन गर्ने इरानको अधिकारलाई कायम राख्ने विषय पनि समावेश रहेको दाबी गरिएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अधिकार त्याग्ने वा युद्धअघिको अवस्थालाई पूर्ण रूपमा पुनस्र्थापित गर्ने कुनै प्रतिबद्धता गरेको छैन ।

मस्यौदामा समुद्री यातायातलाई सामान्य बनाउने र इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्ने विषय मात्र समेटिएको बताइएको छ । स्ट्रेटको व्यवस्थापन तटीय राष्ट्रहरूबिचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ ।

यस्तै सम्झौताअनुसार विदेशमा रोक्का गरिएका इरानका २४ अर्ब अमेरिकी डलर बराबरका सम्पत्ति फुकुवा गरिनुपर्ने माग समावेश छ । त्यसमध्ये आधा रकम सम्झौतामा हस्ताक्षर भएलगत्तै उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आईआरएनएको दाबी छ ।

यस्तै इरानमाथि लगाइएका सबै आर्थिक तथा अन्य प्रतिबन्ध हटाउने विषय ६० दिनभित्र सम्बोधन गरिने उल्लेख गरिएको छ । त्यो अवधिमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप सैन्य बल नपठाउने र इरानमाथि नयाँ प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि जनाउने बताइएको छ ।

मेहर समाचार एजेन्सीका अनुसार मस्यौदामा इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको योजना समावेश गरिएको छ । यसको कार्यान्वयन प्रक्रिया भने हस्ताक्षरपछि हुने ६० दिने वार्तामा तय गरिने बताइएको छ ।

यस्तै इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम तथा इरान समर्थित क्षेत्रीय सशस्त्र समूहहरू (प्रोक्सी फोर्स) सम्बन्धी विषयहरू मस्यौदाबाट पूर्ण रूपमा हटाइएको मेहरको दाबी छ । यद्यपि इरानी तस्निम समाचार एजेन्सीले भने सम्झौताको पाठ अझै इरानका सम्बन्धित निकायहरूले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको जनाएको छ ।

सबीच इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि सरकारी टेलिभिजनसँग कुरा गर्दै अमेरिकासँगको सम्झौतामा इरानमाथि लगाइएको अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश रहेको बताएका छन् । अराघचीका अनुसार, हर्मुज जलमार्ग खुला गर्ने र सैन्य तनाव कम गर्ने सहमति भए पनि इरानको आणविक कार्यक्रमका बारेमा भने पछिल्लो चरणमा मात्र वार्ता हुनेछ ।

अमेरिकी अधिकारीहरूले पनि सम्झौताका केही विवरणहरूको पुष्टि गरेका छन्। उनीहरूले इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेमा मात्र आर्थिक लाभ र नाकाबन्दी हटाउने प्रक्रिया अघि बढ्ने बताएका छन् । यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक इरानविरुद्ध आक्रमण रोक्ने निर्णय गर्दा आफू छक्क परेको बताएका छन् ।

ट्रम्पले बिहीबार राति इरानविरुद्ध ठुलो आक्रमण गर्ने भनेको केही घण्टापछि वार्ता सहमतिनजिक पुगेको भन्दै एकाएक हमला स्थगन गरिएको बताएका थिए । एक्सियोसको रिपोर्टअनुसार ‘नेतन्याहुले ट्रम्पले आफूलाई कुनै जानकारी नदिई इरानविरुद्ध आक्रमण रोक्दा आफू छक्क परेको बताएका हुन्।’

एक्सियोसले दाबी गरेको छ, ‘नेतन्याहु र इजरायलका अधिकारीहरूले अमेरिकालाई इरानमा सैन्य दबाब कायम राख्न निरन्तर आग्रह गरिरहेका थिए। उनीहरूलाई विश्वास थियो– इरानले समय किन्न वार्ताको प्रयोग गरिरहेको छ।’ यसैबिच ट्रम्पले पनि ३९औँपटक अमेरिका–इरान शान्ति सम्झौता नजिकै पुगेको दाबी गरेका छन् ।

यद्यपि इरानले अहिलेसम्म अन्तिम निर्णय भइनसकेको भन्दै ट्रम्पको भनाइ अस्वीकार गरेको थियो । सीएनएनको रिपोर्टअनुसार ट्रम्पले यसअघि सार्वजनिक भाषण, सामाजिक सञ्जाल वा सञ्चारमाध्यमसँग कुराकानीमा कम्तीमा ३८ पटक सम्झौताको नजिक पुगिएको वा इरान सहमतिका लागि तयार रहेको दाबी गरिसकेका छन् । अहिलेको अभिव्यक्तिसँगै उनले त्यस्तो दाबी गरेको ३९औँपटक भएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top