४ असार, काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि दिउँसो कोशी प्रदेशका तराई, मधेश प्रदेश र अरू प्रदेशका पहाडी तथा हिमाली भेगमा पानी पर्ने सम्भावना छ । महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ्ने छ । गए राति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।
यस्तै आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ । आज कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी र मधेश प्रदेशको तराई भेगका एक, दुई ठाउँमा पनि मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अपराह्न वा साँझपख काठमाडौँमा पानी पर्ने सम्भावना छ । ‘दिउँसो २÷३ बजेपछि बादल बढ्दै गएर हल्कादेखि मध्यमसम्म वर्षा हुने आकलन छ’, उनले भने । त्यसअघि भने काठमाडौँ उपत्यकामा बादल पनि लाग्ने र घाम पनि देखिने अवस्था हुने मौसमविद् दाहालको भनाइ छ ।

यसबीच नेपालमा मनसुन भित्रिने औसत मिति नाघेको आज ६ दिन भइसकेको छ । तर मनसुन प्रवेश गर्न सकेको छैन । यद्यपि अब मनसुन चाँडै प्रवेश गर्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताएका छन् । तर पनि अब यति नै दिनभित्र मनसुन आइपुग्छ भनेर ठोकुवा गर्न नसकिने उनको भनाइ छ ।
‘मनसुन चाँडै प्रवेश गर्ने अनुमान गरेका छौँ’, उनले भने, ‘तर यति दिनभित्र भित्रिन्छ भन्न सकिन्न। बीचमा फेरि केही परिवर्तन पनि हुन सक्छ।’ नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख थियो । यद्यपि मनसुन ठ्याक्कै यही मितिमा भित्रिने होइन, यो त औसत मिति मात्र हो ।
यसको केही दिन अघि वा पछि मनसुन नेपालमा प्रवेश गर्छ । गत वर्ष २०८२ मा भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिन अगाडि नै मे २९ तारिखमा प्रवेश गरेको थियो । यसैबीच मनसुन भित्रिनुभन्दा अघि नै देशभरका विभिन्न मुख्य राजमार्गहरू बाढी, पहिरो र सडक मर्मतका कारण प्रभावित भएका छन् ।
प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका केही खण्डहरूमा यातायात सञ्चालनमा अवरोध देखिएको छ । कोशी प्रदेश अन्तर्गत मध्य पहाडी लोकमार्ग र मेची कोरिडोरका केही भागहरू प्रभावित भएका छन् । भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि हाल एकतर्फी सुचारु रहेको छ। त्यहाँ वैकल्पिक बाटो समेत उपलब्ध छ ।
पाँचथरको याङवरक गाउँपालिका २ दोभानमा बाढीले गर्दा मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ । इलाम नगरपालिका–९ पुवाखोलामा बाढीका कारण मेची कोरिडोर पूर्ण रूपमा अवरोध भएको छ । हालका लागि मेची राजमार्गलाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिने जानकारी दिइएको छ ।
यता बागमती प्रदेशमा पनि मुख्य सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ । बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर स्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकोले १ महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ ।
मुग्लिन–नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु छ ।
