४ असार, काठमाण्डौ ।
वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक कुवेत जान लागेका २७ जना महिलालाई आज विमानस्थलबाट फर्काइएको र हाल कुवेतका जेलमा ६३ जना नेपाली थुनामा रहेका छन् । यसबारेमा परराष्ट्रमन्त्री शिशिर खनालले नै जानकारी गराएका हुन् । उनका अनुसार कुवेतका जेलमा सात महिलासहित ६३ जना नेपाली रहेका छन् ।
मन्त्री खनालले आज मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन् । “कुवेतको जेलमा सयौँ नेपाली महिलाहरू रहेको भन्ने भनाइमा सत्यता नरहेको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउँछु । हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली नागरिकहरू विभिन्न अभियोगमा थुनामा रहेकोमा तीमध्ये सातजना महिला रहेका छन्,” परराष्ट्रमन्त्री खनालले भने ।

कुवेतमा घरेलु कामदारका रूपमा काम गर्न गएकी सर्मिला दर्जीलाई नेपाली दूतावास, कुवेतको पहलमा यही असार १ गते काठमाडौं फर्काइएको उनले जनाए । त्यसैगरी नेपाली दूतावासले उद्धार गरेका करिब ७० जना महिलाहरू नेपाल फर्कने क्रममा रहेको उनले जानकारी दिए ।
तत्कालीन संघीय प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिबाट २०७३ चैत २० गते ‘सम्बन्धित मुलुकले घरेलु श्रमिक सम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा नेपाली घरेलु श्रमिक पठाउने कार्य पूर्णतः बन्द गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई निर्देशन दिने’ निर्णय गरेपश्चात घरेलु कामदारको रूपमा जान बन्देज लागेको उनले जनाए ।

तर, अवैध बाटो वा भिजिट भिसाको दुरूपयोग गरी कुवेत, साउदी अरब तथा ओमान जस्ता मुलुकमा घरेलु काममा नेपाली महिलाहरू जाने क्रम नरोकिएको उनले बताए । “अब यसलाई सम्बोधन गर्न ढिलो गर्नु हुँदैन,” परराष्ट्रमन्त्री खनालले भने । यसैबीच हिजोमात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २७ महिलालाई फर्काइएको छ ।
बुधबार मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचना पाएपछि र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले २७ महिलालाई विदेश जान रोकेको थियो । त्यसपछि २७ महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको हो ।
अहिले ती महिलामाथि सोधपुछ गरेर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । ‘हामीले सोधपुछका लागि नियन्त्रणका लिएका महिला आफैं पीडित हुन् । उनीहरूलाई फकाएर, झुक्याएर कसले विदेश लैजान लागेको हो भन्नेबारे अनुसन्धान गर्दैछौं,’ उनले भने ।
अहिलेसम्मको प्रारम्भिक अनुसन्धानको क्रममा ओमन जाने भनेर ती महिलाहरूलाई भिजिट भिसामा कुवेत लैजान लागेको पाइएको छ । यसरी लैजाने गिरोहबारे अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ । बुधवार राति फ्लाई दुबईको फरक फरक उडान हुँदै ओमनको राजधानी मस्कटतर्फ जान लागेका १२ र १५ गरी २७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो ।
२२ देखि २९ वर्ष उमेरसम्मका ती महिला ‘भिजिट भिसा’, अर्थात् पर्यटकका रूपमा विदेश जान लागेको कुरामा शंका भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुसँग ओमनको भिसा, टिकट र होटल डकुमेण्ट देखिए पनि सोही पासपोर्टमा कुवेतको भिसा पनि भेटिएपछि शंकाका आधारमा विमानस्थल अध्यागमनले निगरानी गरेको थियो ।
अध्यागमनले शंका गरेपछि प्रहरीले अनुसन्धान गरेको हो । त्यसक्रममा महिलाका निम्ति वैदेशिक रोजगारी प्रतिबन्धित मुलुक कुवेतको भिसा देखिँदा उनीहरु अवैध रूपमा त्यसतर्फ जान लागेको निष्कर्ष प्रहरीले निकालेको थियो । फ्लाई दुबईको उडानबाट ओमनको राजधानी मस्कट हुँदै त्यहाँबाट कुवेत जाने रुट तय भएको थियो ।
कुवेत लगिएपछि घरेलु कामदारका रूपमा स्थानीय एजेण्टले नेपाली महिलाको अनुहार हेर्दै छानेर लैजाने र कुनै घरमा कामदारका रूपमा राख्ने प्रचलन छ । त्यसरी राखिएका महिलालाई शारीरिक यातना दिनेदेखि यौनजन्य हिंसा हुनेसम्मका घटना विगतमा भएका छन् । नियन्त्रणमा लिइएका महिलालाई विदेश पठाउने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
