६ चैत , काठमाण्डौ।
७६ जनाले ज्यान गुमाएको ऐतिहासिक जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनमा बहुमत प्राप्त दलको नेताका रुपमा बालेन्द्र शाह बालेनले यही चैत १३ गते रामनवमीका दिन देशको प्रधानमन्त्रीको शपथ लिने तय भएको छ। यो शपथ ग्रहणले नेपालको लोकतान्त्रिक यात्रा र जनआन्दोलनको संघर्षलाई नयाँ मुकाममा पु¥याउने आशा गरिएको छ।
नवनिर्वाचित सांसदले शपथ लिएको भोलिपल्ट १३ चैतमा शाहले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । रास्वपाका शीर्ष नेताबीच बालेन्द्र सरकारमा बढीमा १५ मन्त्रालय रहने समझदारी बनेको छ । उनीहरूबीच बिहीबार भएको बैठकमा प्रधानमन्त्रीको शपथ र मन्त्रिपरिषद् गठनबारे छलफल भएको हो ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी बैठकमा प्रधानमन्त्रीको शपथसँगै सरकारका सुरुवाती चरणका प्राथमिकताबारे परामर्श भएको छ । जेनजी आन्दोलनले आम नागरिकको आवाजलाई केन्द्रमा राख्दै भ्रष्टाचार, असमानता र सामाजिक अन्यायको विरुद्ध संघर्ष गरेको थियो।
चैत १३ गतेको शपथ ग्रहणको मितिलाई धार्मिक र सांस्कृतिक सन्दर्भमा पनि महत्वपूर्ण मानिएको छ। रामनवमी हिन्दु धर्मावलम्बीहरूको महान पर्व हो, जसले मर्यादा पुरुषोतम भगवान् रामको जन्म दिनको स्मरण गराउँछ। रामराज्यको अवधारणा अनुसार आदर्श नेतृत्व, न्याय, मर्यादा, धर्म र समाजकल्याणको शासन कायम हुने विश्वास राखिन्छ।
बालेन शाहको शपथ ग्रहणलाई यस दिनमा तय गर्नुले केवल राजनीतिक रूपमा मात्र होइन, सांस्कृतिक र नैतिक दृष्टिले पनि नेपालमा न्यायपूर्ण, पारदर्शी र जनता–केंद्रित शासनको संकेतका रुपमा समेत विश्लेषण गर्न थालिएको छ ।
सरकार गठन र प्रधानमन्त्रीको नेतृत्वमा जनताका हक र हितको संरक्षण, भ्रष्टाचार विरुद्ध कदम र सामाजिक न्यायको सुनिश्चितता प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ।
नयाँ सरकारको नेतृत्वले जेनजी आन्दोलनका मूल्य र आदर्शलाई व्यवहारमा उतार्दै देशलाई समृद्धि, सुरक्षा र न्यायको मार्गमा अगाडि बढाउने विश्वास नागरिकमा देखिएको छ। सात बुँदे पूर्वसहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ।
बिहीबार साँझ शीर्षस्थ नेताहरुबिच भएको छलफलले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार अनुमोदनको लागि १२ गते केन्द्रीय समिति बैठक बस्नेछ । महामन्त्री बुर्लाकोटीले भने,‘बाँकी संसदीय दलको बैठकले प्रक्रिया अगाडि बढाउँछ ।
सर्वसम्मत सहमति भएपछि संसदीय दलको नेता बनाउन विधान संशोधन गर्न आवश्यक छैन। प्रधानमन्त्रीको शपथ चैत १३ गतेलाई तय भएको पनि उनले बताए। प्रतिनिधिसभामा झन्डै दुई तिहाइको सुविधाजनक बहुमत प्राप्त भएकाले सांसदको शपथ लिएपछि मात्र प्रधानमन्त्री पदको शपथ लिने टुंगो नेताहरूले बताएका हुन् ।
सांसदको शपथ १२ चैतमा हुने तय भएपछि रास्वपाका शीर्ष नेताबीच प्रधानमन्त्रीको शपथ भोलिपल्ट लिने र सोही दिन मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीलाई पनि शपथ लिन लगाउने समझदारी बनेको छ । निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बिहीबार प्रमाणपत्र वितरण गरेको छ ।
बिहीबार नै आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएर त्यसको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । त्यससँगै नयाँ सरकार गठनको बाटो खुलेकाले रास्वपाका नेताहरू सरकार गठनको गृहकार्यमा जुटेका हुन् ।
सांसदको शपथ, संसदीय दलको कार्यालय र सांसदलाई अभिमुखीकरणका विषयमा संसद् सचिवालयले ६ राजनीतिक दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिलाई बोलाएर बिहीबार दिउँसो छलफल गरेको थियो । संसद् सचिवालयले सांसदको शपथ मिति तय गरेपछि रास्वपाका शीर्ष नेताले बैठक बसेर प्रधानमन्त्री पदमा पार्टी वरिष्ठ नेता शाहले कहिले शपथ लिने भन्ने मिति प्रस्ताव गरेका हुन् ।
उक्त मितिमा प्रधानमन्त्रीको शपथ गराउने प्रबन्ध गर्ने प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाउने तयारी भएको रास्वपाका नेताहरूले बताएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ १२ चैत दिउँसो २ बजे तय भएको छ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगको परामर्शपछि सांसदको शपथ मिति तय भएको हो ।
संसद् सचिवालयले सांसदको शपथका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । सांसदको शपथ निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा गर्ने प्रबन्ध गरिएको छ । सांसदको शपथ, संसदीय दलको कार्यालय र सांसदलाई अभिमुखीकरणका विषयमा संसद् सचिवालयले ६ राजनीतिक दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका प्रतिनिधिलाई बोलाएर बिहीबार दिउँसो छलफल गरेको थियो ।
रास्वपा शीर्ष नेताहरूको बैठकमा सरकारका सुरुवाती चरणका प्राथमिकतामा के–के विषय रहने भन्नेबारे छलफल भएका छन् । वरिष्ठ नेता शाह सभापति लामिछानेसहितका नेताहरूसँग पछिल्लो समय सरकार गठनलगायतका विषयमा निरन्तर छलफलमा छन् ।
शाहनिकट स्रोतका अनुसार निर्वाचनको समीक्षासँगै मन्त्रीहरूको छनोट, सरकार गठन भएपछि गर्ने कामको प्राथमिकीकरणलगायत विषयमा निरन्तर छलफल चलिरहेको छ । शीर्ष नेताहरूबीचको बैठकमा मन्त्रिपरिषद्मा कति सदस्य सहभागी हुने भन्नेबारे पनि सामान्य छलफल भएको छ ।
बालेन्द्र सरकारमा बढीमा १५ मन्त्रालय हुने समझदारी बनेको छ । मन्त्री कसलाई बनाउने र कति जना हुने भन्ने विषयमा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच थप छलफल हुने नेताहरूको भनाइ छ । रास्वपा सभापति लामिछाने र काठमाडौं महानगरका तत्कालीन मेयर शाहबीच १३ पुसमा गरिएको सहमतिको बुँदा नं. ४ मा लेखिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’
प्रतिनिधिसभाको २१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले झन्डै दुई तिहाइ अर्थात् १८२ सिट जितेको छ । प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ ।
काठमाडौंको मेयरबाट राजीनामा गरेर पार्टी राजनीतिमा होमिएका शाहले संसद्मा एकल बहुमतको सरकारको नेतृत्व १३ चैतबाट गर्न लागेका हुन् । यसैका लागि बालेनले पार्टीका शीर्ष नेताहरुसँग राजकाजको छलफल सुरु गरेका छन् ।
