१५ असार , काठमाण्डौ।
जारी विश्वकपमा आज राति नेपाली समय अनुसार पौने ११ बजे अमेरिकाको होस्टन स्टेडियमा ब्राजिल र जापान आमनेसामने हुँदैछन् । राउण्ड अफ ३२को दोस्रो खेलमा आज पाँच पटकको विश्व विजेता ब्राजिल र एसियाली पावर हाउस जापानबीच प्रतिस्पर्धा हुँदैछ ।
ब्राजिल र जापान समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन् । ब्राजिल समूह सी को विजेता बन्दा जापान समूह एफको उपविजेताको रुपमा राउण्ड अफ ३२ मा प्रवेश गरेका थिए । एकातिर पाँच पटकको विश्व विजेता ब्राजिल अर्कोतिर एसियाको पावर हाउस जापान ।
यो एसियाकै लागि मात्र नभएर विश्वभरका फुटबल समर्थकको लागि पनि प्रतिक्षित खेल बनेको छ । यस खेलको विजेताले अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग खेल्नेछ । सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकप जितेयता ब्राजिलले विश्वकप जित्न सकेको छैन ।
यस पटक कीर्तिमानी छैटौं उपाधि जित्ने लक्ष्यमा ब्राजिल छ । जापान भने अहिलेसम्म अन्तिम १६ बाट अगाडि बढ्न सकेको छैन । राउण्ड अफ ३२ मै ब्राजिल प्रतिद्वन्दी परेपछि अहिले जापानका लागि विश्वकपमा यो इतिहासकै ठूलो खेल बनेको छ । यदी ब्राजिललाई स्तब्ध पार्न सके जापानको लागि त्यो ऐतिहासिक उपलब्धी हुनेछ ।
जापान लगातार तेस्रो र पछिल्लो सात विश्वकपमा पाँचौ पटक नकबउट चरणमा प्रवेश गरेको हो । तर जापानले अहिलेसम्म नकआउट चरणमा कुनै खेल जित्न सकेको छैन र पहिलो जितको खोजीमा छ । ब्राजिल र जापानबीच अहिलेसम्म भएको खेल हेर्दा ब्राजिल बलियो देखिएको छ ।
अहिलेसम्म यी दुई टोलीबीच कूल १४ खेल भएकोमा ११ खेल ब्राजिलले जितेको छ । जापानले एक खेल मात्र जित्दा २ खेल बराबरीमा सकिएको छ । यस्तै विश्वकपमा भने ब्राजिल र जापान दोस्रो पटक आमने सामने हुन लागेका हुन् । सन् २००६ मा जर्मनीमा भएको विश्वकपको समूह चरणमा ब्राजिलले जापानलाई ४–१ ले पराजित गरेको थियो ।
अब ब्राजिललाई बदला लिने अवसर हुनेछ । यही खेलले देखाउने छ, कार्लो एन्सेलोट्टीको टिमले टोकियोमा जापानसँग बेहोरेको हार यता कति सुधार गरेको छ । एन्सेलोट्टी सामु यस विश्वकपका लागि २६ सदस्यीय टिम चयन गर्न पनि ५ दिनको अन्तर्राष्ट्रिय विश्रामको समय मिलेको थियो ।
यसबीच ब्राजिलले एसिया, युरोप र अफ्रिकी टिमको चुनौती भने गुज्रिएको थियो । त्यस क्रममा ब्राजिलको पहिलो परीक्षा दक्षिण कोरियाविरुद्ध रहेको थियो । सोलमा भएको खेल सजिलै ५–० ले जित्न पनि सफल रह्यो । टोकियोमा भएको खेलमा पनि दुई गोलको अग्रतामा ब्राजिल सजिलो जिततर्फ अग्रसर देखिएको थियो ।
तर जापानले दोस्रो हाफमा गजब खेल्यो । ब्राजिलले साह्रै नराम्रो र बिर्सनलायक हार आत्मसात् गर्नुप¥यो । सोमबार हुने नकआउट चरणको खेलको कथा भने बेग्लै हुनेछ । जापानी प्रशिक्षक हाजिमे मोरियासु भन्छन्, ‘मलाई लाग्छ, हाम्रो टिमको सामना गर्दा ब्राजिल जितका लागि अझ बढी प्रेरित रहनेछ ।’
जापानले समूह ‘एफ’ को अन्तिम खेलमा स्विडेनसँग १–१ को बराबरी खेलेको थियो । टोली दोस्रो स्थानमा रह्यो । त्यसअघि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन रच्दै बराबरी नै खेलेको थियो । प्रशिक्षक होरियासु थप्छन्, ‘अबको ब्राजिली टिम फरक खाले रहनेछ । हामी पनि यो खेलको चुनौती सामना गर्न तयार छौं ।’
ब्राजिलविरुद्धको त्यस खेलयता जापानी टिम आफैं पनि फरक रहेको छ । अहिलेको टिममा चोटका कारण वातारु एन्डो, कोरु मितोतमा, ताकेफुसा कुबो र मिनामिनो टोलीमा छैनन् । टोकियोमा उत्रिएको ब्राजिली टिमको रक्षापंक्ति अहिलेको एन्सेलोट्टीको टोलीमा छँदै छैन ।
मोरक्कोविरुद्धका १–१ को बराबरी खेलेयता ब्राजिली टिमको प्रदर्शनमा धेरै सुधार आएको छ । भिनिसियस जुनियरले ४ गोल गरिसकेका छन् । यस्तै नेयमरले तीन वर्षको अन्तरमा ब्राजिलका लागि खेलिसकेका छन् । स्कटल्यान्डलाई ३–० ले हराएपछि एन्सेलोट्टीले भनेका थिए, ‘हामी पक्कै पनि पूर्ण छैनौं । तर टिममा सुधार निश्चित रूपमा छ । विशेषतः टिमको गति बढी आक्रामक भएको छ ।’
उनी थप्छन्, ‘टिमको प्रदर्शनमा जसरी सुधार आएको छ, त्यसका लागि म कृतज्ञ छु । अब भने विश्वकपको नकआउट चरण सुरु भएको छ, त्यसैले हामीले आफ्नो टिम वास्तवमै कस्तो छ भनेर त्यसलाई प्रमाणित गर्नुपर्छ ।’ ब्राजिल र जापान भिड्दा त्यस पछाडि मित्रवत इतिहासको पृष्ठभूमि पनि रहनेछ ।
दुई देशबीचको फुटबल सम्बन्धमा बढाउनमा ब्राजिली पुराना खेलाडी जिकोको ठूलो हात छ । उनले फ्लेमिङ्गो, युडिनेसी र ब्राजिलका लागि खेले । पछि संन्यासको निर्णय फिर्ता लिएर सुमितोमो मेटलबाट पनि खेले । यसपछि पनि उनले जापानी फुटबल विकासमा योगदान कायम राखे ।
जिकोले सन् २००२ देखि २००६ बीच जापानी प्रशिक्षकको जिम्मेवारी पनि लिएका थिए । सन् २००६ को विश्वकपमा जिको नै जापानी टिमका प्रशिक्षक थिए । त्यस विश्वकपको लिग चरणमा जापान ब्राजिलसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको थियो ।
अब आजको खेलमा ब्राजिल र जापान दुवैको परवार्डमा धेरैको नजर रहनेछ । ब्राजिलका लागि मुख्यकर्ता भिनिसियस जुनियर र माथियस कुन्हा तथा जापानका लागि उएदा सँगै नाकामुरा र दाइची कामाडा हेर्न लायक खेलाडीको रुपमा हुनेछन् । ब्राजिलका लागि अहिलेसम्म दुई खेलाडीले मात्र गोल गर्दा जापानका लागि गोल र असिस्टमा गरी कूल १० खेलाडी इलभल्भ भइसकेका छन् ।
त्यसमा दाइची कामाडा र उएदाले २–२ गोल गरेका छन् । समूह चरणमा ब्राजिल र जापान दुवैले ७–७ गोल गरेका थिए । ब्राजिलका लागि भिनिसियसले ४ र कुन्हाले ३ गोल गरिसकेका छन् । भिनिसियसले समूहको तीनवटै खेलमा गोल गर्दै तीनवटैमा प्लेअर अफ दि म्याच अवार्ड समेत जितेका थिए ।
तर फिफा विश्वकपमा जापनिज मेसीका नामले परिचित राष्ट्रिय टोलीका सदस्य ताकेफुसा कुबो सोमबार ह्युस्टनमा ब्राजिल विरुद्धको खेल गुमाउने भएका छन् । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा जापान स्टार विंगर ताकेफुसा बिना मैदानमा उत्रने भएको छ । प्रशिक्षक हाजिमे मोरियासुले ’जापानी मेस्सी’ घुँडाको चोटबाट अझै निको नभएको पुष्टि गरे ।




