२२ असार , काठमाण्डौ।
देशभर मनसुनी वायूको प्रभाव रहँदा आज पनि केही स्थानमा वर्षा भइरहेको छ । आज बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ । गएको चौबीस घन्टामा भने लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भूभागमा भारी वर्षा मापन भएको छ ।
जाजरकोटमा ६८.६ मिलिमिटर, रोल्पाको लिवाङ गाउँमा ६६ मिलिमिटर, सुर्खेतको खानीखोलामा ६४.८ मिलिमिटर वर्षा मापन भएको छ । अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । यस्तै मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।
आज राति पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसबीच गएराति भने कम मात्रै वर्षा भएको छ । पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि दुई रात लगातार मध्यमदेखि ठूलो वर्षा भएको थियो । यता काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
‘विहान काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले भने, ‘दिउँसो पानी पर्ने सम्भावना छ।’ मौसमविद् दाहालका अनुसार १२ बजेको आसपास वर्षा सुरु हुने सम्भावना छ । वर्षा नहुँदासम्म भने काठमाडौँ उपत्यकामा बेलाबेला घाम पनि देखिदै छ ।
यसैबीच डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीबाट कुल ३५ घरधुरी प्रभावित भएका छन् भने ७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन् । बाढीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको मुचुल्का उठाइएको डीएसपी अनिलराज गिरीले बताए ।
बाढीबाट प्रभावित परिवारलाई जगदुल्ला गाउँपालिकाले तत्काल ४ लाख ६० हजार रुपैयाँ राहत वितरण गरेको छ । गाउँपालिका अध्यक्ष नारसिंह रोकायका अनुसार बाढीबाट पूर्ण रूपमा विस्थापित भएका ८ घरधुरीलाई प्रतिघरधुरी ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ ।
यस्तै, आंशिक रूपमा प्रभावित १९ घरधुरीलाई प्रतिघरधुरी १० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिएको उनले बताए । बाढीमा परी मृत्यु भएकी ५६ वर्षीया आनन्दी विकको परिवारलाई समेत ५० हजार रुपैयाँ राहत उपलब्ध गराइएको अध्यक्ष रोकायले जानकारी दिए । उनका अनुसार प्रभावित परिवारलाई हाल आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ ।
उता, बाढीपछि उद्धार, राहत तथा क्षतिको विवरण संकलनका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली परिचालन भएका छन्। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।
बाढीमा घाइते भएकी ४४ वर्षीया रेउली विकको अवस्था गम्भीर भएपछि गृहमन्त्रालयसँग समन्वय गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट लगिएको थप राहत सामग्री सोमबार वितरण गरिने जनाएको छ ।
स्थानीय तह, सुरक्षा निकाय र प्रशासनबीच समन्वय गरी राहत वितरण तथा पुनःस्थापनाका कामलाई अघि बढाइएको बताइएको छ ।




