२३ असार , काठमाण्डौ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को दोस्रो संस्करण यस वर्ष अझ बृहत् रूपमा आयोजना हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा साउन २६ देखि साउन ३१ गतेसम्म (अगस्ट ११–१६) मा आयोजना हुने यो प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहने आयोकजले जनाएको छ ।
एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिने नाइमाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितुसिंह वैद्यले यस वर्षको अटोमोबाइल एक्स्पो थप विस्तारित र व्यवस्थित हुने तथा प्रदर्शनीमा आउने मानिसहरू पनि गत सालको भन्दा बढ्ने अनुमान गरिएको बताइन् ।
‘गत साल करीब १ लाख जना प्रदर्शनीस्थल आएकोमा यस वर्ष यो संख्या थप बढ्ने अनुमान छ,’ उनले भनिन् । गत वर्षमात्र स्थापना भएको नाइमाको सदस्य संख्या पनि बढ्दो क्रममा रहेको उनले बताइन् । एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट शुरू भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन् ।
उनका अनुसार यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो । पत्रकार सम्मेलनमा सदस्य तथा उद्योग सरोकारवालाहरूबाट आएको उच्च मागलाई ध्यानमा राख्दै नाइमाले कमर्सियल मोबिलिटी ब्रान्ड र सम्बन्धित सरोकारवालाहरूलाई लक्षित गरी थप मोबिलिटी एक्स्पो आयोजना गर्ने विषयमा पनि विचार गरिरहेको बताइयो ।
अभावका कारण केही इच्छुक सदस्य तथा सरोकारवालालाई स्टल उपलब्ध गराउन नसकिएको भन्दै अध्यक्ष वैद्यले नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताइन् । एक्स्पोका प्रमुख विशेषताबारे जानकारी दिँदै नाइमा अटो सो योजना समितिका संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिष्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताए ।
शारडाले मनसुनलाई ध्यानमा राख्दै एक्सपोमा विशेष व्यवस्था गरिएको र अपांगता भएका व्यक्तिहरूका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिने जानकारी दिए । नाइमाका अनुसार एक्स्पोको टिकट विक्रीबाट प्राप्त आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप र तालिम कार्यक्रमका लागि छुट्ट्याइनेछ ।
एक्स्पोमा प्रवेशका लागि विद्यार्थीलाई १०० रुपैयाँ र सर्वसाधारणलाई २०० रुपैयाँ टिकट लाग्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पो अवधिभर मोबिलिटी, सडक सुरक्षा, प्रविधि, रोजगारी र उपभोक्ता सचेतनालगायत विषयमा विशेषज्ञहरूको सहभागितामा निःशुल्क ‘लर्निङ सेसन’ समेत सञ्चालन गरिनेछ ।




