Messi र Mbappe को महायुद्ध : कसले रच्नेछ इतिहास?

२५ असार ८३, शुक्रबार

२६ असार , काठमाण्डौ ।

फिफा विश्वकप २०२६ को ट्रफी कसले उचाल्ला ? यो कौतुहलता त छँदै छ । तर यो पटक विश्वकपको मैदानमा एउटा यस्तो लडाइँ चलिरहेको छ, जसले फुटबल इतिहासका पुराना सबै रेकर्डहरूलाई तोडिदै छ । गोल्डेन बुट अर्थात् विश्वकपको सर्वाधिक गोलकर्ताको त्यो सुनौलो जुत्ता, जसलाई पाउनु जुनसुकै स्ट्राइकरको लागि एउटा सपना हो ।

इतिहास साक्षी छ, सामान्यतया ५ या ६ गोल गर्ने खेलाडीले गोल्डेन बुट सजिलै घर लैजान्थे। सन् २००६ मा मिरोस्लाभ क्लोज र २०१० मा थोमस मुलरले मात्र ५–५ गोल गरेर यो अवार्ड जितेका थिए । तर, सन् २०२६ को यो महाकुम्भमा एउटा यस्तो चमत्कार भइरहेको छ, जहाँ ८ गोल गरिसकेका खेलाडीले पनि ढुक्कसँग भन्न सकेका छैनन्— यो बुट मेरै हो ।

Advertisement

यो कुनै सामान्य प्रतिस्पर्धा होइन । यो त फुटबल जगतका चार शक्तिमानहरू— लियोनल मेसी, किलियन एम्बाप्पे, एर्लिङ हालान्ड र ह्यारी केनबीचको भिडन्त हो । सन् २०१८ मा इङ्गल्यान्डका कप्तान ह्यारी केनले ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । २०२२ मा कतारको भूमिमा किलियन एम्बाप्पेले फाइनलमा ह्याट्रिकसहित ८ गोल गरेर सबैलाई स्तब्ध पारे ।

तर २०२६ मा आइपुग्दा, प्रतियोगिताको अन्तिम चरण बाँकी छँदै दुई खेलाडीले ८ गोलको आँकडा छोइसकेका छन्, एक जना ७ गोलमा छन् र अर्का ६ गोलमा । यसको मतलब, यो पटक गोल्डेन बुट जित्नका लागि ९ या १० गोल वा त्यसभन्दा बढीको नयाँ कीर्तिमान बन्न सक्छ । फिफाको इतिहासमा सन् १९७० पछि कुनै पनि खेलाडीले १० गोलको आँकडा पार गर्न सकेका छैनन्। के २०२६ मा यो सम्भव होला?

Advertisement

सूचीको पहिलो नम्बरमा छन्, फुटबलका गोट अर्थात् लियोनल मेसी । अर्जेन्टिनाका यी ३९ वर्षीय जादुगरका लागि यो विश्वकप करियरको अन्तिम अध्याय जस्तै हो। र, उनले आफ्नो लयलाई जसरी बचाइराखेका छन्, त्यो पत्याउनै नसकिने खालको छ ।

मेसीलाई गोल गर्नका लागि ९० मिनेट दौडिनु पर्दैन, उनी केवल एक सेकेन्डको खाली ठाउँ र गल्ती पर्खिन्छन् । मेसी अहिले ८ गोलसहित चार्टको शीर्ष स्थानमा छन् । उनको साथमा एउटा असिस्ट पनि छ। यदि अर्जेन्टिनाले बाँकी खेलहरूमा जित निकाल्दै अघि बढ्यो भने, मेसीले आफ्नो करियरमा अर्को एउटा गोल्डेन बुट थप्ने सम्भावना प्रवल छ ।

तर, मेसीका लागि यो बाटो सजिलो छैन, किनभने उनको ठ्याक्कै पछाडि एउटा फ्रेन्च बुलेट कुदिरहेको छ । दोस्रो दाबेदार हुन्— किलियन एम्बाप्पे । फ्रान्सका कप्तान, जसको गति भूकम्प जस्तै छ र प्रहार मिसाइल जस्तै । सन् २०२२ को गोल्डेन बुट विजेता एम्बाप्पे यसपटक लगातार दोस्रो पटक यो अवार्ड जितेर इतिहास रच्ने दाउमा छन् ।

यसैबीच, एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा गोल गरेसँगै उनले विश्वकप इतिहासमा आफ्नो गोलसंख्या २० पु¥याएका हुन् । उनले केवल २० खेल खेल्दै यो अभूतपूर्व उपलब्धि हासिल गरेका हुन् । हालसम्म उनले ८ गोल, २ असिस्ट गरेका छन् ।

गज्जको स्पीड र काउन्टर अट्याक उनको बलियो पक्ष हो । सबैभन्दा ठुलो कुरा— फ्रान्स सेमिफाइनलमा पुगिसकेको छ । यसको मतलब एम्बाप्पेले कम्तीमा अझै दुईवटा खेल खेल्न पाउने पक्का छ । फिफाको नियमअनुसार यदि दुई खेलाडीको गोल बराबरी भयो भने, जसको बढी असिस्ट छ, उसले गोल्डेन बुट पाउँछ ।

एम्बाप्पेको अहिले नै २ असिस्ट भइसकेकाले उनी मेस्सी र केन (१–१ असिस्ट) भन्दा प्राविधिक रूपमा अगाडि छन् । फ्रान्सको बलियो टिम र एम्बाप्पेको यो लय हेर्दा, धेरै विज्ञहरूले एम्बाप्पे नै गोल्डेन बुटको सबैभन्दा बलियो हकदार भएको दाबी गरिरहेका छन् ।

तर, यो दौडमा एउटा यस्तो गोल मेसिन छिरेको छ, जसले डिफेन्डरहरूलाई सपनामा पनि तर्साउने गर्छ । पहिलो पटक विश्वकप खेलिरहेका नर्वेका एर्लिङ हालान्ड ! धेरैलाई लागेको थियो— नर्वे सानो टिम हो, हालान्डले विश्वकपमा संघर्ष गर्नेछन्। तर हालान्डले ती सबै शङ्काहरूलाई गोलको वर्षा गरेर धोइदिएका छन् ।

उनले हालसम्म ७ गोल गर्दा असिस्ट गरेका छैनन् । गोल कन्भर्जन रेट अर्थात्, पाएको मौकालाई गोलमा बदल्ने क्षमतामा हालान्ड शीर्ष चारै जनामा सबैभन्दा खतरनाक छन् । उनलाई आधा मौका मात्र चाहिन्छ, बल नेटको भित्र हुन्छ । डेब्यु विश्वकपमै ७ गोल गर्नु आफैँमा एउटा असाधारण रेकर्ड हो ।

हालान्डको यो डेब्यु सिजन नै गोल्डेन बुटको सिजन बन्न सक्छ, यदि नर्वेले आगामी खेलहरूमा उनलाई लगातार बल फिड गर्न सक्यो भने । र चौथो नम्बरमा छन्, इङ्गल्यान्डका भरोसायोग्य कप्तान ह्यारी केन । ६ गोलसहित उनी शीर्ष स्थानभन्दा मात्र २ गोल पछाडि छन् । केनलाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन, किनभने उनीसँग विश्वकपमा गोल्डेन बुट कसरी जितिन्छ भन्ने अनुभव र फर्मुला दुवै छ ।

६ गोल, १ असिस्ट गरेका केनको पेनाल्टीमा अचुक निशाना र उत्कृष्ट ’लिङ्क–अप प्ल बलियो पक्ष हो । केन केवल गोल मात्र गर्दैनन्, मिडफिल्डमा झरेर खेल पनि बनाउँछन् । इङ्गल्यान्डको टिम गेम र सेट–पिसमा केनको हेडिङ क्षमता निकै घातक छ । यदि इङ्गल्यान्डले बाँकी खेलमा उच्च प्रदर्शन गर्यो भने, केनले २–३ गोल थप्नु कुनै ठुलो कुरा होइन ।

प्रतियोगिता यी चार जनामा मात्रै सीमित छैन । फ्रान्सकै उस्मान डेम्बेले ५ गोलसहित दाउ हेरेर बसेका छन् । स्पेनका मिकेल ओयार्जाबल र इङ्गल्यान्डका युवा स्टार जुड बेलिङम पनि ४–४ गोलसहित रेसमा छन् । यदि यी डार्क हर्स खेलाडीहरूले आगामी खेलमा ह्याट्रिक वा असाधारण प्रदर्शन गरे भने, शीर्ष चारको समीकरण भत्किन बेर लाग्ने छैन ।

अब सबैको नजर जुलाई १९ को त्यो ऐतिहासिक फाइनल खेल र त्यसअघिका सेमिफाइनल भिडन्तहरूमा छ । मेसी आफ्नो सुखद बिदाइ चाहन्छन्, एम्बाप्पे आफ्नो साम्राज्य बचाउन चाहन्छन्, हालान्ड नयाँ इतिहास लेख्न आतुर छन् भने केन पुरानो गौरव फर्काउने दाउमा छन् । विश्वकप इतिहासकै यो सबैभन्दा रोमाञ्चक, डरलाग्दो र अनपेक्षित गोल्डेन बुटको दौडले फुटबल फ्यानहरूलाई रोमाञ्चको मोडमा पुर्याएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top