२६ असार , काठमाण्डौ ।
बिहीबार जिउमा आगो लगाएका गणेश नेपालीले यो संसार अब सधैंका लागि छाडिसकेका छन् । परिवारको गुजारा चलाउन संघर्ष गरिरहेका एक नौजवान युवकको यो दुःखद अन्त्यले उनका आफन्त मुगुबासी मात्रै होइन, सिंगो देश स्तब्ध बनेको छ। सँगै असार १३ गते उनले ‘ट्राफिक प्रहरीले दुःख दिएको’ भन्दै गाउँका भतिज पर्नेलाई पठाएको म्यासेजले उनी कुन पीडा र अवस्थाबाट गुज्रिरहेका थिए भन्ने अनुमान लगाउन सकिन्छ ।
जसमा उनले ‘हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार। १००० तिर्नुपर्ने भो’, भनेर लेखेका छन्। उनले म्यासेजको अन्तिममा दुईवटा रोइरहेको इमोजी पनि राखेका छन्। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा मृत्युसँग लड्दा लड्दै निधन भएको छ।
नो पार्किङमा राखिएको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाइदिएपछि केही समयको भनाभन भएको र त्यसपछि गणेशले आफूमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक विवरण बाहिर आएको छ। केही क्षणको आवेग, पीडा र निराशाले एउटा जीवन नै समाप्त भयो। तर यो घटना केवल एउटा व्यक्तिको भावनात्मक निर्णयको परिणाम मात्र हो कि यसभित्र राज्य व्यवस्था, नागरिकप्रतिको व्यवहार र सामाजिक दबाबका धेरै तह लुकेका छन् भन्ने विषयमा गम्भीर बहस सुरु भएको छ ।
वीर अस्पतालका चिकित्सकका अनुसार गणेशको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले उनलाई इनहेलेसन इन्जुरीसमेत भएको थियो। सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन सीपीआर गर्नुपरेको थियो।
चिकित्सकहरूको २१ जनाको टोलीले अथक प्रयास गरे पनि गणेशलाई बचाउन सकेनन्। अन्ततः जीवनका लागि गरिएको लामो संघर्षले हार मान्नुप¥यो। उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा पियुष दाहालका अनुसार शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेका कारण उनको अवस्था अस्पताल ल्याइएकै समयदेखि अत्यन्त गम्भीर थियो ।
‘उहाँको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले इनहेलेसन इन्जुरी पनि भएको थियो,’ दाहालले भने, ‘सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौं।’ दाहालका अनुसार उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन सीपीआर गर्नुप¥यो ।
डा. दाहालले भने, ‘पहिलो पटक उहाँलाई केही समयका लागि पुनः जीवनचिह्न फर्काउन सफल भयौं । तर दोस्रो पटकको सीपीआरपछि पनि अवस्था सुधार हुन सकेन । त्यसपछि बिहान ११ बजेर १९ मिनेटमा मृत घोषणा गरियो ।’यो घटनापछि राहदानी विभाग, ट्राफिक प्रहरी र नगर प्रहरीले आ–आफ्नो पक्ष स्पष्ट पार्दै आफूलाई निर्दोष सावित गर्ने प्रयास गरेका छन्।
कसैले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् भने कसैले प्रष्टिकरण दिएका छन्। तर अब सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको दोषी को हो भन्ने मात्र होइन, यस्तो अवस्था सिर्जना हुने वातावरण किन बन्यो भन्ने हो। गणेशले किन आफ्नो जीवन समाप्त गर्ने कठोर निर्णय लिए ? एउटा सामान्य जरिवाना वा प्रशासनिक कारबाहीले कसरी एउटा नागरिकलाई आफ्नो अस्तित्व नै समाप्त गर्ने अवस्थामा पु¥यायोरु यसको वास्तविक कारण अनुसन्धानमा जुटेको नेपाल प्रहरीले पत्ता लगाउला।
तर यो घटनाले ट्राफिक जरिवाना, सरकारी व्यवहार, नागरिकको मनोविज्ञान, बेरोजगारी र राज्यप्रतिको भरोसामाथि गम्भीर प्रश्न भने उठाएको छ। परिवारको जिम्मेवारी बोकेर राइडरको रूपमा काम गरिरहेका गणेशजस्ता हजारौँ युवाहरू आज देशका सडकमा संघर्ष गरिरहेका छन्। उनीहरू केवल रोजगारी खोजिरहेका छैनन्, सम्मानपूर्वक बाँच्ने अधिकार खोजिरहेका छन्।
आर्थिक दबाब, सामाजिक असुरक्षा र राज्य संयन्त्रसँगको दूरीले धेरै युवाको मनभित्र कति ठूलो पीडा जम्मा भइरहेको छ भन्ने कुरा यो घटनाले उजागर गरेको छ। गणेशको आत्मदाहपछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म सरकारी नियम, ट्राफिक जरिवाना, बेरोजगारी र युवाको मानसिक अवस्थालाई लिएर व्यापक टिप्पणी भइरहेका छन्।
राजनीतिक दलका नेता, कलाकार र सर्वसाधारण सबैले राज्यप्रति प्रश्न उठाइरहेका छन्। कतिपयले गणेशको मृत्यु केवल आत्मदाहबाट भएको नभई राज्यको असंवेदनशील प्रणालीले निम्त्याएको परिणाम भएको टिप्पणीसमेत गरेका छन्। यो घटनालाई लिएर रास्वपाकै सांसद् रन्जु दर्शनाले आफ्नै सरकारमाथि प्रश्नसहित लेखेकी छन्, रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन।
हिजो सुकुमबासी व्यवस्थापनको विषयमा “१०० दिने कार्यसूचिको” बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो। दुध चुसाई रहेकि आमा, सुत्केरी, बृद्ध बा आमाहरू लाई पनि एकै व्यवहार नगरीयोस् भनेर सदनमा पटक पटक आवाज राखेँ। सम्बन्धित निकाय पनि निवेदन गरेँ। यो काम चाहिँ सरकारको तर्फ बाट ठिक ढङ्गले भएन।
आज गणेश नेपालीको आत्मदह, उनको उपचार खर्च व्योहर्ने सम्म सिमित रहन मिल्दैन। गणेश नेपाली आफैंलाई जलाउने बिन्दु सम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोज बाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ। एक गणेशले त भौतिक रूपमै आफुलाई जलाए तर दैनिक “मैले सकिन, मरौं कि क्या हो” भन्ने सोच आउने लाखौं युवाको लागि जिवन केहि भएपनि सहज हुने नीति सरकार बाट चाहिन्छ।
“मैले सकिन” भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक(आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नु सम्म ठेले पछि यथार्थ बाट आएको हुन्छ। मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होईन, जिवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको ठुलो सुरक्षा हुन्छ। १०० दिनमा आमुल परिवर्तन, लाखौं रोजगारी एकैपटक सिर्जना गर्न सकिँदैन, त्यसको जग निर्माणको अध्ययन र सुरूवात गर्न मात्र सकिन्छ।
जुन काम हुँदैपनि छ। सबैलाई एकैपटक खुसि बनाउन पनि सकिँदैन तर पिँधमा रहेका श्रमजीवि, गरीबहरूको रोदन भने रोक्न सकिन्छ। सरकारको ध्यान जाओस्। मैले भनेको यो कुरा सामाजिक सञ्जालको रेकर्डमा पनि बसोस्। पत्रकार रुपेश क्षेष्ठ लेख्छन्, जरिवानाको एउटै घटनाले उसलाई त्यहाँसम्म पु¥याउन सक्छरु विश्वास गर्न गाह्रो छ।
के मोटरसाइकल उठाइदिने कामले आफैंलाई जलाउन प्रेरित ग¥योरु यो पत्याउन पनि कठिन। तर हरेक दिन उसले एउटै खालको हैरानी खेपीरहेको छ भने के हुन्छरु म भन्न सक्दिनँ, मैले उसको धरातल बुझेको छैन। त्यसैले म अनुमान गर्दिनँ। तपाईंले उसलाई कायर भन्नुहोला, नामर्द भन्नुहोला। कसैले नियम मान्न नखोज्ने अराजक(अपराधि भन्नुहोला। तर उसले आफ्नै समयसँग विद्रोह गरेको हुँ भन्ने ठानेको पनि होला।
तर अस्कर वाइल्डले लेखेका छन्,ुमानिस आफू नष्ट हुन सक्छ, पराजित हुन सक्दैन। वाइल्डले मानिसको अदम्य साहसको व्याख्यामा यसो भनेका थिए। तर मानिसले कहिलेकाहीँ परिस्थितिलाई जित्ने उपायका रूपमा आफूलाई नष्ट गर्ने बाटो समाउँछ। सबै बाटो गन्तव्यमा पुग्दैनन्। फेरि पनि, मैले उसको जुत्तामा उभिएर संसार बुझेको छैन।
उनी थप लेख्नछन्, मान्छे मर्नु वा मारिनु हरेक अवस्थामा दुखद र संवेदनशील बिषय हो । यसमा पक्ष वा विपक्ष भन्ने नै हुन्न । यसलाई पनि सहि ठहर्याउने कसैले तर्क गर्छ भने त्यो नै अमानवीय हुन्छ । आत्महत्याबाट आफ्नै परिवारको सदस्य गुमाइसकेको र म आफै पनि कुनै समय एन्जाइटी जस्तो मानसिक समस्या भोगिसकेको कारण मेरा लागि कुनै पनि आत्महत्या र त्यसको प्रयास मुटु छेड्ने बन्छ ।
मलाई होस सम्हाल्न समय लाग्छ । गणेश नेपालीको स्वास्थ्य चाँडो निको होस् । कसैको कारणले यो भएको रहेछ भने छानविन र उचित कारबाही हुनै पर्छ । गणेश नेपालीको आत्महत्याको प्रयास आफैमा भयानक अवस्था हो । हरेकले सोच्नु पर्ने अनिवार्य हो । सरकारसहित राज्यका हरेक तह, अंग र निकायहरूका लागि यो आजको समयको सबैभन्दा प्रमुख बिषय हो ।
नेपालमा हरेक दिन ८० जनाले विभिन्न किसिमले विभिन्न ठाउँमा आत्महत्याको प्रयास गर्छन् र नेपालमा दिनमा औसत १८ जनाको आत्महत्या हुन्छ भन्ने तथ्यांकको अंक देखाएर यसलाई सामान्यकरण गरिनु हुन्न । चर्चित अधिवक्ता स्वागत नेपालले भने यो घटनालाई आत्मदाहपछिको निधन नभई हत्या भनेका छन्, उनी लेख्छन्, गणेश नेपालीको आत्महत्या होइन राज्यले गरेको हत्या हो ।
गणेशको आत्मदाह पछिको निधनको घटनामा दुई चर्चित कलाकारहरुले भने राज्यमाथि प्रश्न उठाएका छन् । कलाकार दिपकराज गिरी सरकारलाई कटाक्ष गर्दै लेख्छन्, अपार जन समर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ । यस्तै अभिनेत्री केकी अधिकारीले जलेको मनलाई धेरै समय सम्हाले भन्दै लेखेकी छन्, हिजो त तन न जलेको हो सरकार ,गणेश भनेकी छन् ।
राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको शरीर ५५ प्रतिशत जलेको थियो। यसबिच उनलाई थप उपचारका लागि भारत लाने तयारी पनि गरिएको थियो। तर स्वास्थ्य अवस्था अस्थिर भएपछि अन्तिम समयमा स्थगन गरिएको थियो।
कामको सिलसिलामा मुगुबाट काठमाडौँ आएका गणेशका दाजु मदनले काठमाडौँ महानगरको प्रहरीले अनावश्यक दुःख दिँदा घटना भएको आरोप लगाएका छन्। स्थानीय प्रत्यक्षदर्शीले पनि गणेशले यात्रु ओराल्न रोकेको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ गरेपछि उनी आवेशमा आएर आफ्नै जिउमा आगो लगाएको बताएका छन्।
त्यस क्रममा महानगर प्रहरीसँग गणेशको केहीबेर भनाभनसमेत भएको थियो। सार्वजनिक भएका कतिपय भिडिओमा उनी रोकिराखेको मोटरसाइकमा बसेर महिला प्रहरीसँग पनि विवाद गरिरहेको देखिन्छ। गणेशका दाजु मदनले आर्थिक समस्यासँगै बारम्बार जरिवाना तिर्नुपर्ने अवस्थाले भाइमा मानसिक तनाव बढेको हुनसक्ने बताएका छन्। गणेश वैदेशिक रोजगारीका लागि दुबई जाने प्रक्रियामा थिए।
दाइ मदनका अनुसार उनी वैदेशिक रोजगारीमा दुबई जान सकिन्छ कि भनेर प्रयास गरिरहेका थिए भने लोकसेवाको तयारी पनि सँगसँगै गरिरहेका थिए । उनले इमर्जेन्सीमा रहेका बेला भाइसँग २–४ कुरा भएको उनले बताएका छन् । उनले भने, ’बाबा–मम्मीलाई केयर गर्नु भन्यो । अनि यो सबै महानगरले गर्दा हो भन्यो । यति भनेपछि भाइको बोली हरायो ।’
गणेश ३ वर्ष पनि नपुगेकी छोरी र श्रीमती एकमायाका साथ भक्तपुरमा डेरा गरिबस्दथे । अब उनीहरुले जीवनको सबैभन्दा ठूलो साहारा नै गुमाएका छन् । सडकलाई नै जिबिको पार्जनको माध्यम बनाएर बाइकमा दौडिरहने गणेश जरिवानाबाट हैरान रहेको उनले भतिजलाई पठाएको सन्देशबाट खुलिसकेको छ । २० हजार कमाउन पनि देशमा मुस्किल छ ।
मरिहत्ते गरेर बल्ल बल्ल जागिर पायो भने पनि समयमा तलव नपाउने अर्काे बिडम्बना छ । रोजगारी र तलव दुबैको सुरक्षा ग्यारेन्टी छैन् । अर्काेतर्फ परिवार पाल्नु पर्ने आमा वुवाको स्वास्थ्य उपचार गर्नुपर्ने घर चलाउनु पर्ने जिम्मेवारीलाई नवयुवालाई नै भित्रभित्रै गलाइरहेको हुन्छ । यस्तो बेला देशमा ट्राफिक नियम उल्लंघन गर्नेलाई एक लाखसम्मको जरिवानाका प्रस्तावका खबरहरु बाहिरिन्छन् ।
यस्ता प्रस्तावहरुले कस्तो आँधबेहरी निम्ताएको होला । के नियम पालनाकै लागि आत्मदाहसम्मको बाटो देखाइदिने हो त ? गणेश नेपालीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ अगाडि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिई कालीमाटी वृत्तमा राखेर अनुसन्धान भइरहेको छ। जे नहुनु थियो, त्यही भयो। वीर अस्पतालका चिकित्सकहरूले जीवन बचाउन आफ्नो सम्पूर्ण प्रयास गरे।
२१ जनाको चिकित्सकीय टोलीले दिनरात संघर्ष ग¥यो, तर पनि गणेश नेपालीलाई बचाउन सकिएन। अन्ततः परिवारको सहारा, आफ्ना सपनाहरू बोकेर संघर्ष गरिरहेका एक युवा जीवनले असमयमै विश्राम लिनुप¥यो। तर अब प्रश्न केवल गणेशको मृत्युमा सीमित छैन। प्रश्न त्यो परिस्थितिको हो, जसले एउटा नागरिकलाई यति कठोर निर्णय लिन बाध्य बनायो।
बेरोजगारी, अभाव, बढ्दो महँगी र दैनिक जीवनका संघर्षसँग जुधिरहेका हजारौँ युवाहरूको पीडा बुझ्ने समय आएको छ। गणेश एउटा नाम मात्रै होइनन्, उनी आजको संघर्षशील पुस्ताको प्रतिनिधि पात्र हुन्। परिवारको जिम्मेवारी पूरा गर्न, केही कमाउने आशामा, राम्रो भविष्यको सपना देख्दै सडकमा दौडिरहेका धेरै युवामध्ये एक थिए उनी।
तर जब राज्यका नियम, प्रशासनिक व्यवहार र नागरिकको पीडाबीचको दूरी बढ्दै जान्छ, त्यही दूरी कहिलेकाहीँ असह्य निराशामा बदलिन सक्छ। अब अनुसन्धानले दोषी को हो भन्ने पत्ता लगाउनेछ। कानुनले आफ्नो बाटो लिनेछ। तर राज्यले यस घटनाबाट एउटा गम्भीर पाठ सिक्नुपर्छ।
नियम आवश्यक छन्, तर नियम लागू गर्ने क्रममा मानवीय संवेदना अझ आवश्यक हुन्छ। गणेश फर्केर आउने छैनन्। एउटा परिवारले आफ्नो सहारा गुमाइसकेको छ। तर उनको मृत्यु व्यर्थ नहोस्। अब राज्यले यस्ता घटना दोहोरिन नदिन नागरिकसँगको व्यवहार, प्रशासनिक प्रणाली र युवाहरूको पीडालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ।
किनकि यो देशमा अझै धेरै गणेशहरू छन्, जो बेरोजगारी, अभाव र महँगीसँग जुध्दै केही राम्रो हुने आशामा बाँचिरहेका छन्। उनीहरूको आशा निराशामा नबदलियोस्, उनीहरूको पीडा अन्तिम निर्णयसम्म नपुगोस्। अबको जिम्मेवारी राज्य, समाज र सम्पूर्ण प्रणालीको हो । गणेशप्रति हार्दिक श्रद्धान्जली ।




