इजरेल–सिरिया तनाव घटाउन वार्तामा जुटे

८ भदौ, काठमाण्डौ ।

Advertisement

पछिल्लो समय इजरायल र सिरियाबीच चुलिँदै गएको तनावलाई समयमै नियन्त्रणमा लिने र कूटनीतिक संवादको नयाँ ढोका खोल्ने उद्देश्यले दुवै देशका उच्च अधिकारीहरूबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ । प्राप्त जानकारी अनुसार, आइतबार भएका यी उच्चस्तरीय बैठकमार्फत पछिल्लो समय सिर्जना भएका द्वन्द्वका कारणहरू, टर्कीको बढ्दो प्रभाव र समग्र क्षेत्रीय सुरक्षाको संवेदनशील अवस्थाबारे गम्भीर समीक्षा गरिएको छ ।

मध्यपूर्वको यो भूभाग दशकौंदेखि रणनीतिक र सैन्य द्वन्द्वको केन्द्र बन्दै आएको छ। सन् १९६७ को छ दिनको युद्धदेखि नै इजरायल र सिरियाबीचको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेको छैन। विशेष गरी रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने गोलान हाइट्सको नियन्त्रणलाई लिएर दुई देशबीच लामो समयदेखि तिक्तता रहँदै आएको छ।

Advertisement

हालैका वर्षहरूमा सिरियामा जारी आन्तरिक द्वन्द्वको फाइदा उठाउँदै विभिन्न छिमेकी शक्तिहरूले आफ्नो प्रभाव विस्तार गर्ने होडबाजी चलाएपछि यो क्षेत्र थप विस्फोटक बन्दै गएको छ । इतिहासका ती तिक्ततापूर्ण पानाहरू पल्टाउँदा, जब–जब सिरियाली भूभागमा बाह्य शक्तिको प्रवेश वा सैन्य पूर्वाधारको कुरा उठ्छ, इजरायलले आफ्नो राष्ट्रिय सुरक्षाका लागि कडा कदम चाल्दै आएको देखिन्छ।

आजको यो ताजा तनाव पनि सोही ऐतिहासिक र रणनीतिक अविश्वासको निरन्तरताको रूपमा देखिएको विश्लेषकहरूको ठम्यााइ छ। यसै सन्दर्भमा हालै भएको कूटनीतिक संवादका क्रममा सिरियाका विदेशमन्त्री असाद अल–शैबानी र इजरायली गुप्तचर संस्था मोसादका निर्देशक रोमन गोफम्यानबीच प्रत्यक्ष भेटवार्ता भएको छ।

Advertisement

उक्त भेटवार्तामा पछिल्लो समय इजरायलले सिरियाली भूभागमाथि गरेको आक्रामक हवाई कारबाही र यसले क्षेत्रीय स्थिरतामा पार्ने गम्भीर असरबारे खुलेर कुराकानी भएको छ। दुवै देशका सुरक्षा र कूटनीतिक वृत्तले यस वार्तालाई निकै चासोका साथ हेरेका छन्।

भेटवार्ताको मुख्य केन्द्रमाहालै इजरायली वायुसेनाद्वारा उत्तरी सिरियाको रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ’अबु अल–दुहुर एयरबेस’ मा गरिएको भीषण बमबारी बनेको छ। गत मंगलबार मात्रै इजरायली लडाकु विमानहरूले उक्त एयरबेसमा कम्तीमा आठ वटा शक्तिशाली बम खसालेका थिए।

यस हमलापछि दुई देशबीचको सम्बन्ध थप चिसिएको थियो र यसले क्षेत्रीय युद्धको खतरालाई झनै बढाएको थियो। इजरायलले सिरियाली एयरबेसमा आक्रमण गर्नुको पछाडि टर्कीको बढ्दो सैन्य गतिविधिलाई प्रमुख कारण बनाएको छ।

टर्कीको सीमाबाट करिब ४५ माइल मात्र टाढा रहेको अबु अल–दुहुर एयरबेसमा टर्कीले आफ्नो ड्रोन र अत्याधुनिक राडार प्रणालीसहित ठूलो सैन्य पूर्वाधार विस्तार गर्न खोजेको इजरायलको कडा दाबी छ। ओटोम्यान साम्राज्यको ऐतिहासिक प्रभाव रहेको यस क्षेत्रमा टर्कीले आफ्नो नौसैनिक र हवाई प्रभाव बढाउन खोजेको आरोप इजरायलले लगाउँदै आएको छ।

इजरायली पक्षले टर्कीलाई त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति वा स्थायी बेस क्याम्प बनाउन नदिने कडा चेतावनी दिँदै आएको छ। यदि टर्कीले आफ्नो सैन्य विस्तारका गतिविधि रोकेन भने त्यसको कडा प्रतिवाद गर्ने चेतावनी इजरायलले यसअघि नै दिएको थियो।

यद्यपि, सिरियाले भने टर्कीलाई आफ्नो भूभागमा स्थायी रूपमा कुनै पनि किसिमको सैन्य बेस स्थापना गर्न दिने कुनै पनि योजना नरहँदै आएको स्पष्ट पार्दै आएको छ। यसैबीच, सिरियाका विदेशमन्त्री अल–शैबानीले टर्कीका केही उच्च सैन्य अधिकारीहरूले हालै उक्त एयरबेसको भ्रमण गरेको विषयलाई भने स्वीकार गरेका छन् ।

तर, उनले त्यो भ्रमण कुनै पनि प्रकारको सैन्य बेस स्थापनाका लागि नभई पूर्णतया नियमित तालिम, आपसी सहयोग र अनुभव आदानप्रदानको एक सामान्य हिस्सा मात्र भएको दाबी गरेका छन्।

यसअघि इजरायल, सिरिया र संयुक्त राज्य अमेरिकाबीच भएका शृंखलाबद्ध त्रिपक्षीय तथा द्विपक्षीय छलफलका क्रममा सिरियाले आफ्नो भूमिमा टर्कीलाई सैन्य आधार शिविर बनाउन नदिने ठोस प्रतिबद्धता जनािसकेको थियो।

यस्तो प्रतिबद्धताका बाबजुद पनि इजरायलले एयरबेसमाथि अचानक हवाई आक्रमण गर्नु गैरजिम्मेवारपूर्ण कदम रहेको सिरियाको ठहर छ। बढ्दो तनावले मध्यपूर्वमा थप ठूलो द्वन्द्व निम्त्याउन सक्ने आशङ्कामा अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेको छ।

अमेरिकी विशेष दूत टम ब्याराकसहितका वरिष्ठ कूटनीतिक अधिकारीहरूले इजरायल, टर्की र सिरियालाई फेरि एकपटक द्वन्द्वको बाटो छोडेर शान्तपूर्ण वार्ताको टेबलमा फर्कन जोडदार आग्रह गरेका छन्।छलफलका क्रममा सिरियाली विदेशमन्त्री अल–शैबानीले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्ने जिम्मेवारी सम्बन्धित सबै पक्षको साझा दायित्व भएको बताएका छन् ।

उनले सिरियामाथि भइरहेका लगातारका इजरायली सैन्य कारबाहीहरूले सुरक्षाको प्रत्याभूति गराउनुको सट्टा झन् ठूलो अस्थिरता र द्वन्द्व मात्र निम्त्याउने चेतावनी दिएका छन् । कूटनीतिक विश्लेषकहरूले यी वार्ताहरूले भविष्यमा कस्तो ठोस परिणाम ल्याउँछन् भन्ने कुरामाथि सबैको नजर टिकेको उल्लेख गरेका छन्।

मध्यपूर्वको यो संवेदनशील भूभागमा शान्ति बहालीका लागि कूटनीतिक संवाद नै एकमात्र विकल्प रहेकोमा विज्ञहरूले जोड दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top